मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन

  • १८ आश्विन २०८०, बिहीबार
  • 251 पटक पढिएको

मुस्ताङ १९ असाेज । गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उहाँले नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको बताउनुभयो ।
गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो ।
मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको बिकासकालागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको बताउँदै उहाँलेप्रदेशका अन्य जिल्ला जस्तै बिकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरि सरकारले बजेट बिनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे सहित प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिती थियो । कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादीत कृषि उत्पादनको प्रर्दशनी र बिक्री स्टल संचालन गरिएको थियो । स्थानीयले कला संस्कृती झल्कने प्रस्तुती समेत प्रर्दशन गरेका थिए ।