१३ जनाले धौलागिरि हिमालको आरोहण गरे

  • १३ आश्विन २०८०, शनिबार
  • 277 पटक पढिएको

 

म्याग्दी, १३ असाजे। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालमा शुक्रबार १३ जनाले सफल आरोहण गरेका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको चुचुरोमा उनीहरु पुगेर आरोहणको सुरुवात गरेका हुन् ।

सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए ।

रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरेको शेर्पाले बताए । सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुचुरोमा पुगेका छन् ।

विभिन्न ट्रेकिङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका आरोहीबाट रु २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ ।

गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका चार सय ३६ जनाले अनुमति लिएका छन् ।

उनीहरुबाट रु चार करोड दश लाख १४ हजार सात सय ९७ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ ।

शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ ।