पिप्लेमा सार्वजनिक सुनुवाई: जनशक्ति ब्यवस्थापन नगर्दा  एक्सरेमेशिन प्रयोगविहिन

  • २९ भाद्र २०८०, शुक्रबार
  • धिरन खत्री
  • 406 पटक पढिएको

 

 

म्याग्दी २९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयबासीले पिप्ले स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन लामो सयम देखि प्रयोगविहिन भएको गुनासो राखेका छन् । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर आधारभूत अस्पतालको सेवा संचालन गर्ने योजनासहित भिडियो एक्सरे र एक्सरे मेसिन खरिद गरेर राखेपनि जनशक्ति ब्यवस्थापनमा गाउँपालिकाले ध्यान नदिदाँ प्रयोगविहिन भएको छ ।

खरिद प्रश्चात प्रयोगविहिन अवस्थामा रहेको एक्सेर मेसिनलाई प्रयोगमा ल्याउने किसिमले पहल गर्न सार्वजनिक सुनुवाईमा उपस्थित जनप्रतिनिधिलाई स्थानीयबासी मुक्तिप्रसाद शर्माले आग्रह गर्नुभयो । उहाँले एक्सेर मेसिन प्रयोगविहिन भन्दा सेवा लिन बेनी पुग्नुपरेको गुनासो राख्नुभयो ।

सार्वजनिक सुनुवाईमा उपस्थित अन्य स्थानीयबासीले खेतीयोग्य जमिनको सिमानामा रहेको रुखविरुवा हटाउन बेवास्ता गरिएको, वडाभित्र कार्यान्वयन भएको सडक लगायतका योजनामा प्रभावकारी अनुगमन नभएको, लम्पीस्किन रोगको औषधी निशुल्क वितरण भनेपनि नपाएको, वडाबाट गरिने स्वास्थ्य विमामा छनोट प्रक्रियामा विपन्न परिवार नसमेटिएको, चाडपर्वको समयमा सर्वे नगरी सडक मर्मतमा मेशिन प्रयोग गरिएको, सडक मर्मत असोजमा गरेपनि ईन्जिनियरले भुक्तानीका लागि चैतमा नापजाँच गरेको, स्थानीय पाठ्यक्रम निर्माणमा ढिला गरेको, टोल सुधार समिति गठनमा सिमित भएको, स्वास्थ्य सेवाबाट पाउने निशुल्क औषधी प्राप्त मात्रा पाउन नसकेको, रघुगंगा जलविद्युत आयोजनाले सुरुङनिर्माण गर्नेक्रमा घरहरुमा क्षति पुगेको, योजनाको काम भएअनुसारका भुक्तानी नदिएको, योजना छनोट गर्दा राजनीतिक पूर्वाग्राही भएको गुनासो राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा उपस्थितमध्ये रुद्रप्रसाद शर्मा, कमला केसी, सुजन खत्री, सिता खड्का सुवेदी, मानबहादुर शाही, सुनिता भण्डारी, कृष्ण सुवेदी, सोमबहादुार भण्डारी, मुक्तिप्रसाद शर्मा लगातयले गुनासा र सुझाँव राख्नुभएको थियो । सार्वजनिक सुनुवाई उठेको प्रश्नको जवाफ दिदै वडाअध्यक्ष खिमबहादुर शाहीले प्रयोग विहिन अवस्थामा रहेको एक्सरेमेसिनलाई संचालनका लािग पटकपटक कार्यपालिका बैठकमा उठाएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति ब्यवस्थापनमा ढिलाई गर्दा आधारभूत स्वास्थ्य सेवाहरु प्रभावित भएको बताउनुभयो ।


“वडाभित्रको सेवाप्रवाह, विकास निर्माणमा जनप्रनिधि, कर्मचारी जिम्मेवार छन् वा छैनन् भन्ने विषयमा वडाबासीको धारण सुन्नको लागि सार्वजनिक सुनुवाई गरेका छौ, यहाँहरुको गुनाँसो, सुझावले जनप्रतिनिधि, कर्मचारीलाई जिम्मेवार बन्न मदत पुग्छ” वडाअध्यक्ष शाहीले भन्नुभयो । “वडाभित्र विकास निर्माण राजनीतिक पूर्वाग्राही नराखी काम गरेका छौ, आगामी दिनमा संघ र प्रदेशका जनप्रतिनिधिहरुले योजना छनोटमा समन्वय गर्छौ।” उहाँले रघुगंगा जलविद्युत आयोजनाले सुरुङ निर्माण क्रममा क्षति पुर्‍याएको घरको हाइड्रो, पालिका र पूर्वाधार विकास कार्यालयका ईन्जिनियर मिलेर ३१७ घरको क्षति र अवस्थाको तथ्याङ्क संकलन गरेपनि तथ्याङ्क सार्वजनिकरणमा ढिलाई गरेको बताउनुभयो ।

रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्य सम्झना परियारले जनताको मागअनुसारको योजनामा लागत अनुसार बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले वडा र पालिकाभित्र कमिकमजोरी, गुनासाँ सार्वजनिक सुनुवाईमा मात्र नभएर अन्य समयमा पनि राख्न आग्रह गर्नुभयो । “वडाभित्र टोलसुधार समिति महत्वपूर्ण भएपनि दर्ता विना टोलसुधार समितिलाई काम गर्न ऐनले दिदैन् । टोल सुधार समिति दर्ता गर्दा लाग्ने खर्च पालिकाले नदिने हुदाँ गठनमै सिमित हुनुपरेको छ”, कार्यपालिका सदस्य परियारले भन्नुभयो । स्थानी पाठ्यक्रम निर्माणमा ढिलाई भएको स्विकार गर्दै पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेले आधारभूत अस्पताल निर्माण लागि एक्सेर र भिडियो एक्सरे मेसिन गाउँपालिकाले खरिद गरेपनि जनशक्ति अभावले आंशिक रुपमा भिडियो एक्सरे मेसिन प्रयोग भएको छ भने एक्सरे मेसिन र प्रयोगशाला संचालनमा जनशक्ति अभाव रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बालकृृष्ण सुवेदीले वडाभित्रका जनताको चाहनाअनुसार विकास निर्माणमा जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । उहाँले वडाको जनसंख्या घटदै गएको कारण समयसापेक्ष, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको गुणस्तरीय सुविधा विस्तारमा लाग्न गरेर बसाईरोक्ने किसिमले काम गर्न सुझाव दिनुभयो । नेपाली कांग्रेस वडासमितिका सभापति अशोककुमार शाहीले जनप्रतिनिधिले विकास योजना छनोट, बजेट विनियोजन र अनुगमन गर्दा अन्य राजनीतिक दलसंग समन्वय गर्नुपर्ने बताउनुभयो ।

वडाअध्यक्ष शाहीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा वडासदस्य जीतबहादुर खत्रीको स्वागत मन्तव्य, वडासचिव सविता कार्कीको संचालन, पशु प्राविधिक सुजन विश्वकर्मा, प्राविधिक कुविर थापा, पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डे, सामाजिक परिचालक सावित्री हमाल मल्लले अघिल्लो बर्षको प्रगति सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक सुनुवाईको सहजकीकरण पत्रकार घनश्याम खड्काले गर्नुभएको थियो ।

आर्थिक बर्ष २०७९/८० मा वडामा दुई करोड २१ लख ९२ हजार रुपैयाँ बजेटको ३८ वटा योजना कार्यान्वयन भएको वडासचिव कार्कीले जानकारी दिनुभयो । उहाँले दुई हजार तीन सय सिफारिस दिदाँ १२ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन भएको बताउनुभयो।

         

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l