बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा

  • २३ भाद्र २०८०, शनिबार
  • 329 पटक पढिएको

 

म्याग्दी, २३ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो। सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार लगायतको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । सम्मेलनलाई अविष्मरणीय बनाउन आर्थिक संकलन, प्रचारप्रसार, कार्यक्रमस्थल ब्यवस्थापन, होटल ब्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिका लगायतको काम अन्तिम चरणमा पुगेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी जेसिज स्थापाना भएको २५ बर्ष पुरा गरेको अवसरमा क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त भएको र यसलाई जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको शाखा अध्यक्ष बानियाँको भन्नुभयो ।

उहाँले सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिदै सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सम्मेलनका सभापति एवम् नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगातातोपानी लगायत क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने छ । सम्मेलनमा सहभागी हुन आउनेहरुलाई म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल र कालीगण्डकी पाईने शालीग्रामको उपहार दिने तयारी गरिएको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बेनीबजार सजावट सामाग्री पनि तयारी भएको छ भने विभिन्न जातजातीले देखाउने कलासंस्कृतिको नृत्य पनि तयारी भएको बताउनुभयो ।