स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

  • १६ भाद्र २०८०, शनिबार
  • 343 पटक पढिएको

स्वाँत, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ ।  स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा बिजेताका लागि रु. एक÷एक लाख पुरस्कारको व्यवस्था गरेको हो । कप, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद पुरस्कारको व्यवस्था गरेको क्लवले जनाएको छ ।

क्लवका प्रतियोगिता संयोजक धु्रब तिलिजाले पुरुष भलिबल र वास्केटलमा उपबिजेतालाई रु. ६०/६० हजार पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । प्रौद्ध भलिबलमा प्रथमलाई रु. ६० हजार र दृतीयलाई ३५ हजार पुरस्कार प्रदान गरिने भएको छ । महिला भलिबलमा बिजेतालाई रु. पचास हजार उपबिजेतालाई रु. तीस हजार प्रदान गरिने क्लवका अध्यक्ष खेमराज गर्बुजा पुनले बताउनुभयो । भदौ १७ गतेदेखि शुरु हुने प्रतियोगिताको नाम दर्ता जारी रहेको क्लवले जनाएको छ । भदौ २२ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा एक वर्षमा एउटा टोलमा मात्र मेला सञ्चालन गर्ने निर्णय अनुसार यसपाली स्वातमा आयोजना भएको हो । प्रतियोगिताको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश सांसद हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

विभिन्न कलाकारहरुको गित तथा नृत्य प्रस्तुति पनि प्रतियोगिताको आकर्षणको रुपमा रहेको छ । प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका दाताहरुले आर्थिक सहयोग गर्नुभएको छ ।