नेकपा माओवादी केन्द्र रघुगंगाद्धारा तीन महिने अभियानको कार्ययोजना निर्माण

  • ९ भाद्र २०८०, शनिबार
  • 371 पटक पढिएको

म्याग्दी, ९ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले पार्टीको तीन महिने अभियानको कार्ययोजना निर्माण गरेको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको पालिका कमिटीको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेको हो ।
उक्त बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने अभियानलाई पालिकाको सबै वडाहरुमा प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गर्दै जिम्मेवारी वाँडफाँड समेत गरेको छ । उक्त विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गर्दै रणवीर सार्की, छकबहादुर सार्की, रोसन परियार र मनिस सार्की माओवादी पार्टीमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टी केन्द्रिय सदस्य तथा रघुगंगा गाउँपालिका इन्चार्ज सत्यनारायण शेरचनले माओवादी नेतृत्वको वर्तमान गठबन्धन सरकारले विकास , समृद्धि र शुसासनको क्षेत्रमा गरेका पहलकदमीले जनतामा सकरात्मक सन्देश दिएको बताउनुभयो । उहाँले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र कका इन्चार्ज एवम् निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले विकास र निर्माण र सुशासनको क्षेत्रमा माओवादीले मात्रै इमानदारीसाथ काम गरेको बताउँदै जनतामा माओवादीले गरेका सकरात्मक कार्यहरुको सन्देश पु¥याउनुपर्ने बताउनुभयो । अभियानको क्रममा पार्टी संगठन निर्माण संगै जनताको समस्या, गुनासाहरुको समेत संकलन गर्ने र पार्टीको नेतृत्व र सरकारलाई सम्बोधनका लागि पहल गरिने उहाँको भनाई छ ।
कार्यक्रममा रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले तीन महिने अभियानलाई जनताका समस्याहरुको पहिचान, योजनाहरुको प्राथमिकीकरण र पार्टी संगठनको पुननिर्माणमा केन्द्रित गरिने बताउनुभयो । उहाँले पालिकाका सबै वडा र बस्ती स्तरमा पुगेर अभियान सञ्चालन गर्न वडा कमिटी र पालिका कमिटीका पदाधिकारी र सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रिम कटुवा, चिना हमाल, नगरपालिका अध्यक्ष शेरबहादुर केसी, पार्टीको जिल्ला समन्वय समितिका सदस्य तारा शाही, नरबहादुर भण्डारी, श्रीकृष्ण रिजाल लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।