बेनी–जोमसोम सडक बाह्र दिनपछि खुल्यो

  • ३१ श्रावण २०८०, बुधबार
  • 269 पटक पढिएको

 

म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो । “सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन्,” उहाँले भन्नुभयो “मौसममा सुधार आएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो ।”


“डोजरको सहायताले छरिएको पानीको स्रोतलाई एकितृत गरी खोला बगाएर झारिरहेका छाँै,” बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भन्नुभयो, “करिब दुई सय मिटर लामो पहिरो यसरी नै बगायो । माटो जति पानीले बगाउने र खस्न सक्ने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन् । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा चटृान भेटिएको छ ।”

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उहाँले जानकारी दिनुभयो । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरुपमा खोल्साबाट बगाइएको छ ।

पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गरिएको थियो । बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो ।

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरोमा परेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । पहिरोले पुरेको जिप निकालिएको छ । सवारी धनीसमेत रहेका शेरपुञ्जाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।