गाउँलेले गराएको सूचनाले कागवेनीमा ठूलो मानविय क्षति टर्यो

  • ३१ श्रावण २०८०, बुधबार
  • 333 पटक पढिएको

 

म्याग्दी, ३१ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीको पूर्व सूचनाले ठूलो मानविय क्षतिको संकट टारेको छ । आइतवार साँझ आएको भिषण बाढीले बस्तीलाई नै बगरमा परिणत गर्दा कुनै मानविय क्षति हुन पाएन । मुक्तिनाथबाट आउने खोला र झोङखोलाको पानि मिसिएर बनेको कागखोलामा बाढी आएको सूचना कागबेनीदेखि माथिका खिङ्का र झोङका स्थानीयले फोन मार्फत दिएका थिए ।

करिब ५ बजेतीर कागखोलामा ठूलो बाढी आएको देखेपछी खिङ्का र झोङका स्थानीयले कागवेनीमा खवर गरेका थिए । कागखोलाको पानी कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको छ । कागबेनीमा साँझ करिब साढे ६ बजेदेखि नै कालीगण्डकीको सतह बढ्न थालेपछि स्थानीयबासीले सतर्कता अपनाएका थिए ।


यहाँ कालीगण्डकी नदीदेखि १५ मिटरकै उचाईदेखि बस्ती बसेको थियो । कागबेनीदेखि माथिका दुई गाउँका स्थानीयले दिएको पूर्वसूचनाकै कारण कागवेनीमा सम्भावित मानविय क्षति टरेको गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले बताए । ‘‘माथिका दुई गाउँबाट बाढी अस्वभाविक रुपमा बढेको कारण बस्ती छाडेर सुरक्षित स्थानमा जान सूचना आयो, स्थानीयबासीले सुरुमा विगतकै जस्तो बाढी होला भन्ने सोचेका रहेछन्, पछि बस्तीमा बाढी पस्न थालेपछि सबैले बस्ती छाडेर माथि गाउँपालिकाको भवन रहेको ठाउँमा जम्मा भए, जस्को कारण कुनैपनि मानविय क्षति हुन पाएन’’–उनले भने ।


खोलामा बाढी आउने सूचना पाएपछि स्थानीय प्रहरी र जनप्रतिनिधिहरुले स्थानीयबासीलाई सुरक्षित स्थानमा जान अनुरोध गरेका थिए । कागखोलाको विभिन्न ठाउँमा पहिरोले नदी थुनिएर आउँदा बाढीको वितण्डा भएको स्थानीयको भनाई छ । यद्यपी यस खोलामा विगतका बर्षहरुमा समेत बर्खायाममा अविरल बर्षाको समयमा बाढी आउने गरेको थियो । बलौटे माटो भएको र कमजोर भू–वनोट भएका कारण मुस्ताङमा केही घण्टा मात्रै बर्षा भएपनि खोला र नदीहरुमा लेदो सहितको बाढी आउने गर्छ ।