मुस्ताङको कागबेनीमा बाढीको बितण्डा (तस्बिरमा )

  • २९ श्रावण २०८०, सोमबार
  • 409 पटक पढिएको

अमृत सुवेदी
मुस्ताङ२९ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीले प्रहरी चौकी भवन सहित ३६ बढी घर बगाएको छ । आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितण्डा मच्चाएको थियो । प्रहरीका अनुसार, अहिलेसम्म ३६ घरमा क्षती पुगेकाे तथ्यांक संकलन भएको छ । बाढीले पु¥याएको क्षतिको विवरण संकलन विहानैदेखि भैरहेको छ ।


अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रहरी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरु विहानैदेखि घटनास्थलमा परिचालन भएर उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ । प्रहरी चौकीको भवन बगाएपनि हातहतियारका सामान भने सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सफल भएको प्रहरीले जनाएको छ ।
कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिक स्थल कागवेनीधाममा रहेका धर्मशाला, मन्दिर समेत बगाएको छ । बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो । ‘‘ रातमा बाढी आएपछि भागदौड गरेर स्थानीयबासीले ज्यान जोगाउन सफल भए, ठूलो भौतिक क्षति भएपनि मानविय क्षति हुन पाएन, बाढीको वितण्डाले पुरै कागवेनीको जनजिवन अस्तव्यस्त बनेको छ’’–अध्यक्ष गुरुङले भन्न्नुभयो ।
बाढीले घरहरु बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ । त्यसैगरि बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ । पुल बगाएसंगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्क विच्छेद भएको छ । बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ ।