बाढीले मुस्ताङको कागबेनीमा दुई दर्जन घरसहित भौतिक संरचनाको क्षति

  • २९ श्रावण २०८०, सोमबार
  • 317 पटक पढिएको

 

जोमसोम, २९ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आईतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ । कागबेनी गाउँ माथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पूर्‍याएको बताईएको छ ।

गएराती वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर,झोङ,पुडाक लगायतका शाखा नदी उर्लिएर नदी थुनिएपछि कागबेनी गाउँ बाढीको जोखिममा परेको थियो । अविरल वर्षासंगै गएरातीको ठाँडो खोलाको बाढीले दुई दर्जन घरहरु बगाएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले स्थानीयको घर,पसल,होटल,आमा समुह भवन,प्रहरी चौकी भवन,युवाक्लव भवन,वडा कार्यालय भवन,प्रभु बैंक रहेको घर पुरै बाढीले बगायो वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए ।

यसैगरी कागबेनी खोलामा आएको बाढीले त्यहा अवस्थित धार्मिक श्रद्धस्थल,धर्मशाला,मन्दिर समेत बगाएको छ ।बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर ,जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको अध्यक्ष गुरुङले बताए । अचानक आएको बाढीले कागबेनीमा संञ्चालनमा रहेका आधा दर्जन पसलका सामानहरु समेत बगाएको छ भने कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ ।

बाढीले कागबेनी गाउँ भित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ । यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताईएको छ ।
कागबेनीमा आईतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएपछि स्थानीय हताहत भएका थिए । उनीहरुलाई ,वडा कार्यालय,पालिका ,प्रहरी र प्रशासनको अनुरोधमा सुरक्षित स्थानमा सारिएको थियो ।

कागखोला बाढीको बितण्डाले कागबेनीको तटीय बस्ती रहेको स्थान कुरुप बनाईदिएको छ । अहिले बाढीले क्षति बनाएको स्थानमा वारागुङ मुक्तिक्षेत्र पालिका, प्रहरी, प्रशासन र पालिका भित्रका सबै युवा क्लवका प्रतिनिधिहरु उद्दारका लागि त्ससतर्फ जाँदै गरेको बताईएको छ ।
मुस्ताङका प्रजिअ अनुप केसीले कागबेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि भौतिक क्षति भएको बताए । उनले बाढीले पूर्‍याएको क्षति विवरण संकलन गर्ने तयारी भईरहेको र सुरक्षा निकाय र सरोकारवाला टोली उद्दारका लागि प्रस्थान गरेको जनाए ।