पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

  • २४ श्रावण २०८०, बुधबार
  • 385 पटक पढिएको

 

म्याग्दी,२४ साउन । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएका छन् । गए रातिदेखिको अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको बताए । बेनी–जोमसोम र बेनी—दरवाङ म्याग्दीका प्रमुख सडक हुन् ।

बैसरीमा आइतबारदेखि बन्द भएको म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक मङ्गलबार साँझसम्म पनि खुलेको छैन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरीसँगै पहिरो खस्न नरोकिएकाले सवारी आवतजावत खुलाउन नसकिएको बताए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासी मर्कामा परेका छन् । ढुवानी र निकासी ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोका कारण धौलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि मङ्गलबार बिहानदेखि बन्द छ ।

सोमबार राति खसेको पहिरो बिहान पन्छाएर सवारी आवतजावत खुलाएपछि दिउँसो पुन: पहिरो खसेर अवरुद्ध बनेको बेनी नगरपालिका–४ का वडासदस्य प्रेम श्रीसले बताए । काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रु पैदलयात्रा गर्न बाध्य भएका छन् । पानी पर्न रोकिने बित्तिकै फापरखेतको पहिरो पन्छाउन पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर तयारी अवस्थामा राखेको छ ।