म्याग्दी महोत्सवको आम्दानी खर्च सार्वजनिक

  • २४ श्रावण २०८०, बुधबार
  • धिरन खत्री
  • 321 पटक पढिएको

 

बेनी, २४ साउन । म्याग्दी उद्योग वाणिज्य संघले सातौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक गरेको छ । संघको आयोजनामा गत बर्ष पुष २० गतेदेखि माघ ७ गतेसम्म सदरमुकाम बेनीमा संचालन भएको सातौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक गरेको हो ।

१० दिनसम्म संचालन भएको महोत्सवबाट ८६ लाख ९८ हजार ५४ रुपैयाँ आम्दानी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कुल आम्दानीमध्ये ७० लाख ६९ हजार ८५४ रुपैयाँ महोत्सव संचालनमा खर्च भएको जानकारी दिनुभयो । “बचतमध्ये १० लाख रुपैयाँ ब्यावसायीक हित कोषमा जम्मा गरिएको छ । अहिल्य हितेकाषमा ४३ लाख रुपैयाँ पुगेको छ।”


त्यस्तै आम्दानीबाट पत्रकार महासंघ, नेपाल बालसंगठन, कालीपुल बसपार्क ब्यवस्थापन र नविन योग केन्द्रलाई प्रतिसंस्था ३५ हजार रुपैयाँ दरले सहयोग उपलब्ध गराईएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

आयब्यय सार्वजनिक कार्यक्रममा संघका पुर्व अध्यक्ष कुविर कुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेललाई ३५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।


“महोत्सवबाट उठेको रकमलाई आम्दानीमा उल्लेख गरेका छौ, सहयोग घोषणा गरेका दाताबाट थप सहयोग उठ्न बाँकी छ, उठ्न बाकी रकमलाई आम्दानीमा समावेश गरेका छैनौ”,–कटुवालले भन्नुभयो । “घोषणा गरेको रकम उठ्न ढिलाई भएको कारण आम्दानी खर्च सार्वजनिक गर्न ढिलाई भएको छ भने आम्दानीमध्ये राज्यलाई करसमेत तिरी सकेका छौँ ।”


संघको आयोजनामा २०५८ सालदेखि सुरु भएको महोत्सवले म्याग्दीको जातजातीको भेषभुषा पहिचान र जिल्लाको पर्यटन प्रवद्र्धनको सुरुवात समेत भएको निर्वतमान अध्यक्ष एवम् बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । उहाँले पर्यटनको सम्भावना उजागर भएको क्षेत्रमा लगानीको अभावले पर्यटन प्रवद्र्दन हुन नसकेको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहनुभएका कुविरकुमार श्रेष्ठले म्याग्दीका स्लेट, खरी खानी लगायतको संचालनका लागि स्थानीय तहले पहल गर्नुपर्ने बताउनुभयो । “स्थानीय स्रोत उत्खनन् गर्न कानुनमा समस्या छ, कानुन संसोधन गरेमात्र खानी उत्खनन् गर्न अघि बढ्नुपर्छ ।”

सार्वजनिक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, उपाध्यक्ष लिलाराम गौतम र महासचिव अमृत बानियाँ लगायत सदस्य र पत्रकारहरुको उपस्थित थियो ।

सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औधोगि, ब्यापार मेला२०७९ मा खेलकुद तथा सास्कृतिक प्रतियोगिताहरु भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l