म्याग्दीमा सम्वन्ध विच्छेद गराउनेको संख्या बढ्दो

  • २१ श्रावण २०८०, आईतवार
  • धिरन खत्री
  • 365 पटक पढिएको

 

म्याग्दी, २१ साउन । म्याग्दीमा हरेक बर्ष सम्बन्ध बिच्छेद गराउनेहरुको संख्या बृद्धि हुदै गएको छ । विगतको आर्थिक बर्ष भन्दा आर्थिक बर्ष २०७९/०८० मा सम्वन्ध विच्छेद गराउने संख्या बृद्धि भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले बताउनुभयो ।

आर्थिक बर्ष २०७९/०८० मा कुल ६२० मुद्दामध्ये ३५२ मुद्धा सम्बन्ध विच्छेदको दर्ता भएको अदालतका शाखा अधिकृत सापकोटाले जानकारी दिनुभयो । “३५२ वटा सम्वन्ध विच्छेदका मुद्दामध्ये ३२९ फछर्यौट भएको छ भने २३ वटा बाँकी रहेको छ, अघिल्ला बर्षमा भन्दा सम्बन्धविच्छेदाका मुद्दा बढ्दै गएको छ,”– उहाँले भन्नुभयो । “आर्थिक बर्ष २०७८/०७९ मा सम्वन्ध विच्छेदका मुद्दा तीनसय २२ वटामध्ये २८४ वटा मुद्दा फछर्यौट गरिएको छ भने ३८ वटा बाँकी रहेको थियो ।”

सम्वन्ध विच्छेद विदेश जाने प्रायोजनका लागि कानुनी कागजात मिलाउन, वैदेशिक रोजगारीका कारण महिला र पुरुषको कमजोर सम्वन्धका कारण र सम्वन्धमा विश्वासको संकटले बढेको देखिन्छ । पछिल्लो समय दर्ता गरेको दूई/तीन दिनमा टुंग्याउने सम्वन्ध विच्छेदका मुद्धा बढी हुने गरेको उहाँले उल्लखे गर्नुभयो ।

आर्थिक बर्ष २०७९/०८० मा लगत भएका ६२० मुद्दामध्ये फछर्योट ४४८ भएको छ भने १३२ वटा अझै बाँकी रहेको जिल्ला अदालत म्याग्दीले जानकारी दिएको छ।

जिल्ला अदातल म्याग्दीका अनुसार उठाउनपर्ने जरिवाना ५ करोड १२ लाख ५८ हजार ५३९ रुपैयाँमध्ये एक करोड १८ लाख ३१ हजार ४५४ रुपैयाँ उठेका छ भने ३ करोड ८४ लाख २७ हजार ८२ रुपैयाँ उठाउन बाँकी रहेकोे छ ।

कैदतर्फ नौसय ६२ बर्ष ६ महिना ८ दिनमध्ये ३सय ४७ बर्ष ३ महिना १ दिन असुली भएको छ भने ६सय १५ बर्ष ३ महिना सात दिन कैद असुली गर्न बाँकी रहेको अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l