बेनी नगरपालिकामा घरधनीलाई करकाे दायरामा ल्याउन लगत संकलन

  • २१ श्रावण २०८०, आईतवार
  • 385 पटक पढिएको

म्याग्दी २१ साउन ।  म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत संकलन गर्न थालेको छ।

घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण संकलन गर्न थालेको हो।

नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम गर्न ३५ दिने सूचना जारी गरिएको बताउनु भयो

यसअघिका वर्षमा बेनीका घरधनीले घरबहाल कर स्वेच्छिक रूपमा तिर्दै आएका थिए। नयाँ आर्थिक वर्षदेखि घरबहाल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बताउनुभयो।

स्वेच्छिक रूपमा घरबहाल कर बुझाउने घरधनी न्यून भएपछि धेरैलाई समेट्न नगर सभाबाट ऐन संशोधन र घरधनीको वर्गीकरण गरिएको हो।

संघसंस्थालाई घरभाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबहाल कर तिर्ने गरेका थिए । गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले रु. ३० लाख ३५ हजार राजस्व संकलन गरेको थियो।

नयाँ आर्थिक वर्षमा यो शीर्षकमा रु. ५५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ। घरबहाल कर नगरपालिकाले प्रदेश र संघीय सरकारसँग बाँडफाँट गर्नु नपर्ने आम्दानीको स्रोत हो। जिल्ला सदरमुकामसमेत रहेको बेनीबजार, गलेश्वर र तातोपानी क्षेत्रमा घरभाडामा लगाउने गरेका छन्।

  • घरबहाल कर तिर्ने नगरवासीको संख्या न्यून छ। मन्दिर, समिति, विद्यालय र संघसंस्थाले पनि घर तथा सटर भाडामा लगाएका छन्। तर, बाध्यता परेको अवस्थामा मात्र घरबहाल कर तिर्ने गरेका छन्। घरधनीले तिर्नुपर्ने बहाल कर आफूहरूको थाप्लोमा पारेको व्यवसायीको गुनासो­ छ।