म्याग्दीमा अभ्यास गर्नेे खेलकुद पूर्वाधारको अभाव

  • १७ श्रावण २०८०, बुधबार
  • धिरन खत्री
  • 421 पटक पढिएको

 

बेनी, १७ साउन । पछिल्लो समयमा म्याग्दीमा खेलाडीहरुले अभ्यास गर्ने खेलकुद पूर्वाधार अभाव छ। जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र संचालन गर्ने पूर्वाधारको अभावले फुटवल, क्रिकेट, भलिवल लगायतको खेलले गति लिन सकेको छैन् ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको उपस्थितमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा गठन भएका फुटवल, क्रिकेट, भलिवल, एथलेटिक, कवड्डी, उसु लगायत संघबाट सहभागि पदाधिकारीले खेलाडीलाई प्रशिक्षण गराउने खेलकुद पूर्वाधारको अभाव भएको उल्लेख गर्नुभएको थियो ।


जिल्लामा गुणस्तर खेलमैदानको अभाव हुदाँ खेल प्रशिक्षण केन्द्र संचालन गर्न समस्या भएको जिल्ला भलिबल संघकी कोषाध्यक्ष विष्णु रोकामगरले बताउनुभयो । जिल्ला फुटवल संघका सचिव कुमार बानियाँले जिल्ला फुटवललाई ब्यवस्थित रुपमा अघि बढाउने पूर्वाधारले पूर्णता नपाउदाँ नियमअनुसारले फुटवल प्रतियोगिता संचालन गर्नमा समस्या भएको बताउनुभयो । “अभ्यास र प्रतियोगिता संचालन गर्ने गुणस्तर खेलमैदान अभावले एन्फामा आवद्ध हुन पनि सकिएको छैन । यसतर्फ गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिले ध्यान दिनुपर्छ”,– बानियाँले भन्नुभयो ।

त्यस्तै जिल्ला क्रिकेट संघका छवि आचार्यले क्रिकेट खेल्ने मैदानको अभाव भएको गुनासो गरे । “सदरमुकाम बेनीमा रहेको खुल्लामञ्च सानो छ। त्यही पनि पूर्वाधारले पूर्णता पाएको छैन्, फुटवल र भलिवल खेलका अभ्यास मात्र हुन्छ, जिल्लामा क्रिकेट खेलाडीका लागि खेलमैदान अभाव छ। यसतर्फ प्रदेश र जिल्ला खेलकुद विकास समिति र स्थानीय तहले पनि ध्यान दिनपुर्छ”,– आचार्यले भन्नुभयो ।


जिल्लामा गठित अन्य संघका पदाधिकारीले पोखरामा हुने विभिन्न प्रतियोगिताको जानकारी समयमा नहुने हुदाँ जिल्लालाई खेलाडी छनोट र प्रशिक्षण गराउनमा समय नपुगेको गुनासो गर्दै आगामी दिनमा हुने प्रतियोगिताको सूचना समयमा दिने वातावरण तयार गर्न प्रदेशका सदस्य सचिव शर्मा समक्ष आग्रह गर्नुभएको थियो । पोखरामा हुने रािष्ट्रय र प्रदेशस्तरका खेलहरुमा आयोजकले नियमको पूर्ण पालना नगरी संचालन गरेको गुनासो म्याग्दीबाट खेलाडी लगेर गएका खेलप्रशिक्षकले परिषद समक्ष गर्नुभएको थियो ।

अन्तरक्रियामा प्रदेशका सदस्य सचिव श्रीधर शर्माले जिल्लामा खेलकुद क्षेत्रको अवस्था, समस्या र प्रदेशले सुधार गर्नुपर्ने विषयमा जानकारी लिन खेल क्षेत्रका संघसंगठनसंग स्थलगत अन्तरक्रिया गरेको बताउनुभयो । उहाँले खेलकुदका कार्यालय समयमै खुलाउने, जिल्लामा गठन भएका खेलकुद संघहरु जिल्ला खेलकुद विकास समितिमा आवद्ध हुने, जुन उद्देश्यले निर्माण भएका पूर्वाधार हुन त्यही उद्देश्यमा खेल पूर्वाधारलाई प्रयोग गर्न निर्देशन गर्नुभयो । “खेल क्षेत्रका पूर्वाधारलाई ब्यवस्थित बनाउनमा पहल गर्ने, हरेक विधाका खेलमा प्रशिक्षक न्युक्ति गर्ने, पोखरामा हुने प्रतियोगितामा सबैलाई समान ब्यवहार र प्रतियोगिताको बारे समयमै सूचना प्रशारण हुने वातावरण परिषदले तयार गर्ने छ”,– उहाँले भन्नुभयो ।


जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा उपस्थित भएको कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले संघ र प्रदेशका भर पर्दा खुलामञ्चको पूर्वाधार निर्माण अलपत्र परेको बताउदै यसतर्फ खेलकुद परिषदले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगर खेलकुद ऐन बनाउनका लागि गण्डकी प्रदेश खेलकुद परिषदले सहयोग गर्न आग्रह गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जिल्लाभित्रमा खेलकुद क्षेत्रमा समस्या प्रदेशलाई जानकारी गराउने उद्देश्यले अन्तरक्रिया गरिएको बताउनुभयो । जिल्लामा सम्भावना भएका खेलाडीको खेल स्तर सुधार्ने पूर्वाधार निर्माणमा बजेट अभावले काम गर्न नसकिएको अध्यक्ष केसीले भन्नुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l