सवारी कारवाहीबाट ७३ लाख राजश्व संकलन

  • ८ श्रावण २०८०, सोमबार
  • धिरन खत्री
  • 175 पटक पढिएको

 

म्याग्दी, ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सवारी कारवाहीबाट गतवर्ष ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको छ। आर्थिक बर्ष २०७९/०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरेको थियो ।

प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलका अनुसार गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रक÷टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको बताउनुभयो ।

पछिल्लो सवारीको बढ्दो चापसंगै ट्राफिक नियम उल्लंघन गर्ने संख्या पनि बढी रहेको निरीक्षक पौडेलले भन्नुभयो । ‘विगत बर्षभन्दा राजश्व संकलन बृद्धि आएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लगाईन्छ ।’

सवारी कारबाहीबाट गत बर्षको साउनमा चार लाख ११ हजार पाँचसय, भदौमा ४ लाख १० हजार पाँचसय, असोजमा ६ लाख एकहजार पाँचसय, कात्तिकमा ६ लाख ९९ हजार ५००सय, मंसिरमा ६ लाख दूई हजार, पौषमा ४ लाख ९४ हजार पाँचसय, माघमा चार ४४ हजार पाँचसय, फागुनमा पाँच लाख ५२ हजार, चैतमा ७ लाख ३४ हजार पाँचसय, बैशाखमा ७ लाख ४७ हजार पाँचसय, जेठमा नौँलाख २८ हजार र असारमा ७ लाख एक हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले उल्लेख गरेका छन् ।

आर्थिक बर्ष २०७८/०७९ मा नौँ हजार ४५० सवारी कारबाहीबाट ६३ लाख ९१ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको थियो । गतबर्षमा १३ वटा सवारी दुर्घटना हुदाँ चार जना मृत्यु भएको थियो भने १६ जना घाईते भएको थिए । त्यस्तै आर्थिक बर्ष २०७८/०७९ मा १८ वटा सवारीसाधन दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l