जलजला गाउँसभास्थल तनावग्रस्त, गाउँसभा स्थगीत

  • १४ असार २०८०, बिहीबार
  • 253 पटक पढिएको

पर्वत, १४ असार । पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । गाउँसभामा अध्यक्ष आचार्यले विरोधका बिच नीति तथा कार्यक्रम पेश गर्न खोजेपछि नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभा सदस्यले माइक खोस्ने प्रयास गर्दै नाराबाजी गरेका थिए । उनीहरुले गाउँसभा आयोजित हलको सजावटको सामानहरु समेत च्यातेका छन् ।
आज विहान एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर अध्यक्ष आचार्यले एकलौटी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेको आरोप लगाउँदै गाउँसभालाई यथास्थितिमा अघि बढ्न नदिने जानकारी गराएका थिए । उनीहरुले गत बर्षको गाउँसभा यता भएका खर्चको सार्वजनिकरण, प्रगति विवरणको समिक्षा नगरिकन एकलौटी ढंगले गाउँपालिकाको नेतृत्व अघि बढेको भन्दै विरोध जनाएका छन् ।
गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो । उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउनसक्ने प्रावधानलाई टेकेर गाउँपालिकाले बिहिबार गाउँसभाको बैठक आब्हान गरेको थियो । आजको बैठकमा अध्यक्षले सुरुमा बैठक सुरु गर्नेबित्तिकै एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले उठेर सहमतिपछि मात्रै बिधि र प्रक्रिया पु¥याएर बैठक सुरु गर्न आब्हान गरेका थिए । उनीहरुले जबरजस्ती बैठक सञ्चालन भए त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी दिएका थिए ।
अध्यक्ष आचार्यले पनि आफुले बिधि र प्रक्रिया पु¥याएर बैठक बसालेकोले सभा नरोक्ने भन्दै नीति तथा कार्यक्रम नरोक्ने बताएर प्रस्तुत गर्न सुरु गरेका थिए । त्यसलगत्तै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले कुर्ची उठाएर माइक नियन्त्रण गर्ने प्रयास गर्न पुगेका हुन । सुरक्षाकर्मीले बिचमा रोक्ने प्रयास गरेपनि दुई पक्षबिच गाउँसभास्थल तनावग्रस्त बनेको थियो । गाउँसभामै बाख्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभाभित्रै सुरक्षाकर्मीको उपस्थित गराउनुले पनि गाउँसभालाई शान्त र संयमित बनाउनभन्दा उत्तेजित बनाउन गाउँपालिकाको नेतृत्व लागेको आरोप लगाएका छन् ।