जलजलाको गाउँसभा : एमालेबाट निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि

  • १४ असार २०८०, बिहीबार
  • 287 पटक पढिएको

म्याग्दी १४ असार । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा असहमती जनाएका छन् । गाउँपालिकाको नेतृत्वले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट तयार गरेको र कार्यपालिकाबाट स्विकृत गराएर सभामा पेश गर्नुपर्नेमा विधि मिचेको आरोप लगाउँदै गत असार १० गतेको गाउँसभामा एमालेबाट निर्वाचित गाउँसभा सदस्यहरु अनुपस्थित भएर विरोध जनाएका थिए ।

गाउँपालिकाले विहिवार पुनः गाउँसभा आह्वान गरेपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले विहिबार पर्वत बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटलाई यथास्थितिमा अगाडी लैजान नदिने जानकारी गराएका छन् । वडा अध्यक्ष र कार्यपालिका सदस्य गरि ११ जनाको हस्ताक्षरमा प्रेस विज्ञप्ती समेत प्रकाशन गरिएको छ ।
वडा नम्वर ५ का वडा अध्यक्ष तिलक जिसीले नीति तथा कार्यक्रम र बजेटको बारेमा कार्यपालिका बैठकमा कुनैपनि छलफल नगरिएको, गाउँसभामा पेस गर्नुअघि कार्यपालिका बैठकमा अनुमोदन गर्नुपर्ने प्रक्रियालाई मिचेकोले आफुहरुले असन्तुष्टि जनाएको बताउनुभयो । कुन योजनामा कति बजेट छ? वडाको आवश्यकताको आधारमा नीति तथा कार्यक्रम र बजेट विनियोजन भएको छ कि छैन ? यि सवै विषयहरुमा हामीलाई अनविज्ञ बनाईयो, वडा अध्यक्ष जिसीले भन्नुभयो, “विधिको शासनमा विश्वास गर्ने हामी पटक पटक वेथितिको शासनको साक्षी बस्न सकिएन” ।

असार १० गते गणपुरक संख्या नपुगी स्थगित भएको गाउँसभा विहिबार पनि आह्वान गरिएको छ । आजको गाउँसभामा उपस्थित हुने तर त्यहि अवस्थाको नीति तथा कार्यक्रम र बजेट पास गर्न सहमत नहुने वडा नम्वर ४ का अध्यक्ष भरत बहादुर क्षेत्रीले बताउनुभयो । यद्यपी सहमति र सहकार्यको विकल्प नरहेको र त्यसका लागि वार्ता र छलफलका सवै ढोकाहरु भने खुला रहेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले सहमतिको वातावरण सृजना गरि गाउँसभा संचालन गर्नका लागि छलफल भईरहेको बताउनुभयो ।