बेनी नगरद्वारा करिव ७१ करोड बजेट सार्वजनिक

  • १० असार २०८०, आईतवार
  • धिरन खत्री
  • 241 पटक पढिएको

 

म्याग्दी, १० असार । बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिव ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आईतबार बेनीमा भएको १३ औं नगरसभामा नगरउपप्रमुख ज्योती लामिछानेले ७० करोड ८९ लाख रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो । नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ ५० करोड २७ लाख ७५ हजार रुपैयाँ छ भने पुँजिगततर्फ २० करोड ६१ लख २५ हजार रुपैयाँ रहेको छ ।

“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध, बेनी नगरको मूल आधार” भन्ने नारासहित सुरु भएको नगरसभामा नगरप्रमुख सुरत केसीले प्रस्तुत गर्नुभएको आगामी बर्षको बार्षिक नीति तथा कार्यक्रममा “कृषि उत्पादनमा बृद्धि : नगरको समृद्धी”, “एक वडा एक उत्पादन”, ”पशुउत्पादनमा बृद्धि: आर्थिक उपार्जन सहितको समृद्धि” लगायतका कार्यक्रम संचालन गरिने बताउनुभयो ।

उहाँले समृद्ध पर्यटकीय बेनी नगर बनाउने उद्देश्यले पर्यटकीय सम्भावना उजागर भएका क्षेत्रलाई उजागर गर्न “एक वडा एक पर्यटन परियोजना” कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसंग सामाजिक कार्यक्रमलाई निरन्तरता र घरघरमा स्वास्थ्यकर्मी अभियानलाइ संचालन गरिने बताउनुभयो।

नगरले आगामी बर्षमा गौरवका योजनाहरुमा बेनी रङ्गशाला, बेनी– ज्यामरुकोट सडक, बेनी– अर्थुङ्गे पुलाचौर डडुवा सडक, महारानीस्थान देखि बेनी क्याम्पस चोकसम्म बहुउद्देश्यीय पदमार्ग र एक वडा एक पर्यटन” पूर्वाधारलाई प्राथमकिता दिएर बजेट विनियोजन गरेको छ।

आगामी बर्षदेखि कार्यान्वयन गर्ने गरी भू–उपयोग नीति अनुसार आवाशीय, कृषि, औधोगिक, ब्यवसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदि, खोला,ताल सिमसार, सार्वजनिक उपभोग, साँस्कृतिक तथा पुरातात्वि महत्व र अन्य क्षेत्रमा जग्गा बर्गिकरण सम्पन्न भएको नगरप्रमुख केसीले बताउनुभयो ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l