दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा सडक ढलान

  • ४ असार २०८०, सोमबार
  • धिरन खत्री
  • 379 पटक पढिएको

 

म्याग्दी, ४ असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका– ७ स्थित दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनी हुदै दरबाङ–धारापानी–मुना र लुलाङ सडक अन्तर्गत बादीकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साघुरा घुम्तीलाई चौढा पारेर नालीसहित तीन सय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो ।


उहाँले धवलागिरी गाउँपालिकाबासीलाई सवारीसाधनमा आवातजावातमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने जोखिमलाई न्युनिकरण गर्न नालीसहित ७ मिटर सडक फराकिलो बनाएर स्तरोन्नी योजना अन्तिम चरणमा पुगको जानकारी दिनुभयो ।

दरवाङदेखि धारापानी सम्मको ७ किलोमिटर सडक स्तरोन्नति योजनामा करिव ९० प्रतिशत काम भएको इन्जिनियर अर्जुन शर्माले बताउनुभयो । “बादिका भिरमा साघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो ।


अहिल्य सडक फराकिलो र ढलान गरेपछि सहज भएको छ ।” उहाँले भन्नुभयो । “यस खण्ड स्तरोन्नती भएमा मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नासम्म सहज रुपमा यात्रा गर्न सकिन्छ । खाद्यान्न, विकास निर्माणका सामाग्री सहज रुपमा ओसारपोसार गर्न सकिन्छ ।”

२०७६ असार ४ गते ठेक्का सम्झौता भएको यस सडक खण्डमा निर्माण ब्यवसायीको ढिलासुस्तीले गर्दा दुई पटक समय थपिएको थियो । चालू आर्थिक बर्षको असार मसान्तमा समय सिद्धिने पूर्वाधार विकास कार्यालय म्याग्दीले जानकारी दिएको छ।


यस खण्डको सडकलाई नाली, मेसनरी वाल र ग्राभेल गर्ने गरी २०७६ असार ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग १४ करोड ३८ लाख ६७ हजार रुपैयाँमा २०७८ असारमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई पटकसम्म म्याद थप भएको यस सडकको स्तरोन्नतीको काम अझै पुरा हुन सकेको छैन् ।

राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्ग बागलुङको बैकल्पिक लोकमार्ग मानिएको बेनी–दरवाङ– मुना– गुर्जा, जलजला सडक छोटो दुरीको सडक पूर्णता र स्तरोन्नतीमा संघीय सरकारले प्राथमिकता नराख्दा ओझेलमा परेको धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनले बताउनुभयो । उहाँले यो सडकलाई पूर्णता र स्तरोन्नतीका लागि बजेट विनियोजनमा संघीय सरकारले प्राथमिकताका साथ अघि बढाउन लागि पहल भईरहेको अध्यक्ष पुनले भन्नुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l