बाल उद्यानमा रमाउन थाले बालबालिका

  • २ असार २०८०, शनिबार
  • धिरन खत्री
  • 431 पटक पढिएको

 

म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित सार्वजनिक जग्गामा निर्माण भएको बाल उद्यानमा बालबालिका रमाउन थालेका छन् । बाल उद्यान निर्माणले बजारमा कोठामा सिमित रहेका बालबालिकालाई मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जनका लागि सहयोग पुगेको छ।

गाउँबाट बजारमा पढाउनका लागि झरेका बालबालिकालाई अभिभावकले बेलुकाको समयमा बाल उद्यानमा लाने गरेका छन् । ‘दिनमा स्कुल भए पनि बालबालिकाले बाँकी समय घरमै बिताउनुपर्ने बाध्यता छ भने उनीहरुलाई मोबाइल र टीभीबाहेक कुनै वास्ता नै छैन । उद्यानमा बच्चा घुमाउँदा बालबालिका खुशी हुने अनुभव अभिभावकले सुनाउने गर्छन् । उद्यानमा बालबालिका रमाउन पाउँदा अभिभावकलाई सहयोग पुगेको छ।


सदरमुकाम बेनीमा सार्वजनिक ठाउँमा बालबालिका रमाउने उद्यान बगैचा नहुदाँ अभिभावकले कोठामै सिमित राख्नुपर्ने बाध्यतालाई मध्यनजगर गरेर वडानम्वर ८ कालीगण्डकी नदी किनार स्थित कालिपुलमा अतिक्रमित जग्गालाई ब्यवस्थापन गरेर अघिल्लो आर्थिक बर्ष र चालू आर्थिक बर्षमा विनियोजित कुल आठ लाख रुपैयाँ बजेटबाट बालबालिका रमाउने उद्यान गरिएको वडाअध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।


उहाँले अघिल्लो बर्ष साढे तीन लाख र चालू आर्थिक बर्षमा साढे चार लाख रुपैयाँ बजेटमार्फत कम्पाउण्ड घेराबार, गेट, नाली, बालबालिका रमाउने पूर्वाधार निर्माण गरिएको भन्नुभयो । “यस भन्दा पहिल्य सहरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान थिएन् । बजारमा बालबालिका पढाउन धेरै अभिभावक सागुरो र बालबालिका रमाउन नमिल्ने घरमा बस्न बाध्य छन् ।” उहाँले भन्नुभयो ।

“अभिभावकको गुनासोलाई सम्वोधन गर्दै बाल उद्यान निर्माण निर्माण सम्पन्न भएको छ । यसको ब्यवस्थापनको जिम्मा कालीपुल युनाईटेड क्लव लिएको छ । बेलुका साढे ४ बजेदेखि सात बजेसम्म बालबालिकालाई रमाउनका लागि खुल्ला हुन्छ । यसले बालबालिका रमाउन र खेल्न पाउने अधिकारलाई सहयोग पु¥याएको छ ।


स्कूलबाट घर र घरबाट स्कुल जाने बालबालिकालाई केही समय बाहिरी वातावरणसंग घुलमिल गराउनका लागि सहयोग पुगेको वडाअध्यक्ष कर्माचार्यले थप्नुभयो ।“ आगामी दिन बालबालिका रमाउने थप पूर्वाधार योजना बेनी नगरपालिकाले थप्ने योजना छ।”

बेनी बजारको पुरानो बस्ती कालीपुलमा बालबालिका रमाउने उद्यान बगैचासंगै नजिकै दृष्यावलोकनस्थल बनाईएको छ । दृष्यावलोकनस्थलबाट कालीगण्डकी नदी, कालीपुल र बेनी बजारको दृष्यावलोकन पाईन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l