दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण

  • २ असार २०८०, शनिबार
  • 343 पटक पढिएको

म्याग्दी, २ असार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबामा अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारले तीन वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा अस्पताल भवन निर्माण गरेको हो । पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले जानकारी दिनुभयो ।

भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण्म कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ । भवन निर्माणका लागि विसं २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग रु पाँच करोड १२ लाख ६० हजारमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौतालगत्तै निर्माण व्यवसायीले मजदुर, उपकरण परिचालनसँगै सामग्री जुटाएर निर्धारित समयमै भवन बनाएका हुन् । विसं २०७९ फागुन मसान्तसम्म सम्झौताको म्याद भए पनि बजेट अभावमा भुक्तानी हुन नसक्दा हस्तान्तरण गर्न बाँकी छ । बेनी–जोमसोम सडकको भिरकाटे खण्डदेखि दुई किलोमिटर पाँच सय मिटरको दुरीमा अस्पताल भवन बनाइएको हो ।

संघीय सरकारसँग बजेट माग गरेर भवन हस्तान्तरण प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुुवेदीले बताउनुभयो । “अस्पतालको भवन निर्माण भएको छ । जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर अस्पताल चाँडै सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो, “अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठूलो खर्च व्यवस्थापन गर्नुपर्ने छ ।”

आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार स्थानीयले उपलब्ध गराएको जग्गाको बजार मूल्य रु एक करोड छ । नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।