भूतपूर्व सैनिक सहकारीको सामुदायिक होमस्टे प्रबद्र्धन एवम् रणनीतिक व्यवसायिक योजना कार्यशाला

  • १६ जेष्ठ २०८०, मंगलवार
  • 525 पटक पढिएको

म्याग्दी, १६ जेठ । म्याग्दीको बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक व्यवसायिक योजना निर्माण गरेको छ । रघुगंगा गाउँपालिका–१ बेगमा यही जेठ १२ गतेदेखि सोमबारसम्म सञ्चालन भएको कार्यशाला गोष्ठिबाट आगामी २०८४ सम्मका लागि योजना निर्माण गरिएको हो । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन)को प्राविधिक सहयोगमा सञ्चालन भएको गोष्ठिमा सहकारीका सञ्चालक, लेखा समिति र प्रबन्धकको सहभागिता थियो ।

कार्यक्रमको नेफ्स्कुनका अधिकृत मनोज खड्का र उमेश कोइरालाले सहजिकरण गर्नुभएको थियो । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले गुणस्तर र मापदण्ड युक्त सहकारी बनाउने उद्देश्यले योजना बनाइएको बताउनुभयो । “सहकारीलाई व्यवस्थित दंगले सञ्चालन गरेर क्वालिटि एस्युरेन्स गर्ने उद्देश्य अनुसार पाँच वर्षमा गर्ने गतिबिधिहरुको योजना बनाएका छौ,” उहाँले भन्नुभयो “सदरमुकाम केन्द्रित र जिल्ला बाहिर गएर कार्यक्रम गर्ने परम्परा तोडेर बेगखोलाको होमस्टेमा गएर कार्यक्रम गरेका हौ ।”


बेगखोला सामुदायिक होमस्टेमा सहकारीको कार्यक्रममा गएकाहरु पहिलो पाहुनाका रुपमा पाउँदा सञ्चालकहरुले खुसी व्यक्त गरेका छन् । स्थानीय शिवशक्ति महिला सहकारी संस्थाको हलमा कार्यक्रम गरिएको थियो ।

वडा अध्यक्ष बिलबहादुर फगामीले ग्रामिण क्षेत्रमा कार्यक्रम आयोजना गरेर पर्यटन प्रर्वद्धनका साथै सहकारीको महत्व बढाउन सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । सदरमुकाम र जिल्ला बाहिर हुने कार्यक्रम गाउँमा लैजान सकेमा मितव्ययी, पर्यटन प्रर्वद्धन र ग्रामिण अर्थतन्त्रमा सहयोगी हुने बेगखोला सामुदायिक होमस्टेका अध्यक्ष नरसिंह पुनले बताउनुभयो ।

कार्यक्रममा बेगखोलाका जेष्ठ नागरिक, होमस्टे र सहकारी सञ्चालकहरुलाई सम्मान गरिएको थियो । आगामी वि.स. २०८४ सम्म सहकारीका अन्तराष्ट्रिय गुणस्तरका ७० वटा मापदण्ड पुरा गर्ने लक्ष्य सहित कार्ययोजना बनाइएको छ ।

बेनीको कोटभण्डार टोलमा कार्यालय र म्याग्दी जिल्लाभर कार्यक्षेत्र रहेको भूपु सैनिकका एक हजार सात सय सेयर सदस्यको रु. चार करोड पचास लाख सेयर पुजी रहेको छ । रु. १७ करोड बचत र २२ करोड लगानी गरेको सहकारीको कारोबार रु. २५ करोड छ । रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सदस्य सेवा केन्द्र सञ्चालन गरेको छ । सहकारीले केही समय अघि सेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम गरेको थियो ।