पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)

  • १० जेष्ठ २०८०, बुधबार
  • कमल खत्री
  • 441 पटक पढिएको

कमल खत्री
बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्ने गरेको छ ।
यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन् । पहिलो पटक आधार शिविर पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका प्रदीप पुनले हिमालकै फेदीमा प्राकृतिक सुन्दरताको छटाले भरिएको पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख विर्साएको बताउनुभयो ।
‘‘ आधार शिविरबाट वरिपरि घेरिएको हिमाल, हिमालको फेदीमा यति विशाल ताल, हिमतालकै वरपर बर्षौदेखि जमेका हिउँको ग्लेसियरका अनौठा आकृति, एउटै आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने रहेछ’’–उहाँले भन्नुभयो । ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँद याममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामाकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।
उहाँका अनुसार, सन १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरुले यस तालको नाम डिकिचो ताल भनेर नामाकरण गरेका थिए । हिमालको फेदीमा उच्च उँचाईमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रुपमा शेर्पाहरुले डिकिचो ताल नामाकरण गरेको भएपनि पछि स्थानीयबासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामाकरण गरेको गुरुङले जानकारी दिनुभयो ।
नारच्याङदेबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणको रुपमा रहेको छ । निलो रङले भरिए जस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृष्य फन्को मारेर अवलोकन गर्न सकिन्छ । वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुग्नुभएका आन्तरिक पर्यटक धनीलाल गर्वुजाले बताउनुभयो । तालमा देखिने हिमालको छायाँ र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो कसैलाई आश्चर्यमा पार्ने गर्वुजाले अनुभव सुनाउनुभयो ।
ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिवमन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट संकलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिव मन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन् । पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षित रुपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनको लागि आधार शिविर पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
सन १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारी साधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । राससबाट         

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l