गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा

  • २२ बैशाख २०८०, शुक्रबार
  • 251 पटक पढिएको

 

थम्मन थापा                                            बागलुङ वैशाख २२ । गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरबासी नागरीकलाई अत्याधुनिक सुविधा सहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसीन खरिद गरी सञ्चालनमा ल्याईएको बताउनुभयो ।

 

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट मार्फत १६ लाख मुल्य पर्ने उक्त अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीन खरीद गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलले जानकारी दिनुभयो । उहाँले यसभन्दा पहिले अस्पतालमा म्यानुअल एक्सरे मार्फत् सेवा दिदै आएकोमा अव भने सुविधा सम्पन्न डिजिटल एक्सरे मेसीनमार्फत् सेवा दिन थालिएको बताउनुभयो ।

 

डिजिटल एक्सरे मेसीनको सेवा सुरु भएसँगै अब भनें अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गलकोट नगर अस्पतालले जनाएको छ । आज पहिलो दिन अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीनबाट ५ जनाले सेवा लिएको समेत जनाईएको छ ।

 

अहिले गलकोट नगर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्न थालेपछि आकस्मिक कक्ष (ईमर्जेन्सी सेवा) समेत सञ्चालनमा ल्याईएको छ । अस्पतालमा बिरामीहरुको भर्ना गरी चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभयो ।