चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतले विजयी

  • १२ बैशाख २०८०, मंगलवार
  • 259 पटक पढिएको

चितवन १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना काे अन्तिम मतपरिणाम अनुसार, लामिछानेले ५४ हजार २७६ मत पाएका छन् ।  लामिछानेले निकटतम प्रतिद्वन्द्वीले भन्दा पाँच गुणा भन्दा बढी मत पाएका हुन् ।

मतगणना अनुसार, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४  र नेकपा एमालेका रामप्रसाद न्याैपानेले १० हजार ९३६ मत पाप्त गरेका छन । चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा ७८ हजार २७७ मत खसेकाे थियाे  । मतगणनामा लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरिसकेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।