ठूला विकास योजना: पटक–पटक म्याद थप, काम अलपत्र

  • २३ चैत्र २०७९, बिहीबार
  • धिरन खत्री
  • 453 पटक पढिएको

 

म्याग्दी, २३ चैत । पटक–पटक म्याद थप गरिएको समयमा पनि ठूला विकास योजना सम्पन्न हुन सकेको छैनन् । निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा रणनीतिक र गौरवका योजनाको रूपमा सञ्चालन भएका सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका योजना अलपत्र अवस्थामा छन् ।

हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगरेपछि जिल्लाको विकासपछि धकेलिएको छ । म्याग्दीमा संघीय र गण्डकी प्रदेश सरकारमार्फत् भित्रिएका योजना अधिकाँशको कार्यान्वयन प्रक्रियामा ढिलासुस्ती छ भने कुनै योजनाका काम अधकल्चो अवस्थामा छन् । जिल्लाको विकासमा ठूलो महत्व राख्ने योजनामध्ये बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर–भगवती, पोखरेबगर–शिख–चित्रे–घोडेपानी, दरवाङ–धारापानी, बेनी–बागलुङ, बेनी–मालढुंगालगायत सडक समयमै सम्पन्न हुन सकेका छैनन् । पटकपटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूर्णता नदिएपछि म्याग्दीका सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।


त्यस्तै, बेनी अस्पतालको भवन अलपत्र छ । एक स्थानीय तह एक आधारभूत अस्पताल योजनाअन्तर्गत मंगला र धवलागिरि गाउँपालिकामा निर्माणाधीन भवनमा ढिलासुस्ती भएको छ भने रघुगंगामा योजनाको कार्यान्वयन प्रकृया नै अघि बढेको छैन । एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत आठ किलोमिटर कालोपत्रे गर्ने रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती सडकको पटकपटक म्याद थप्दा पनि भौतिक प्रगति ६९ प्रतिशतमात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । असारसम्म समय सीमा रहेको सडकमा कालोपत्र गर्नका लागि बेस सडकमा पुर्‍याए पनि निर्माण कम्पनीले अझै काम गर्न सकेको छैन ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजना निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै पूरा गर्न सकेको छैन । त्यस्तै बेनी–दरवाङ सडकअन्तर्गत लाम्पाटा–दरवाङ खण्डकको काम पनि उस्तै छ । २०८० साल असारसम्म काम सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई समय थपिए पनि करिब सात किलोमिटर सडक निर्माणको भौतिक प्रगति हालसम्म ५० प्रतिशत छ । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरवाङसम्मको सडक कालोपत्रे गर्न २०७६ जेठमा दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन प्रक्रिया अघि बढाइएका बहुवर्षीय योजना पटकपटकको ताकेतापछि निर्माण कम्पनी काममा फर्किएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “निर्माण कम्पनीलाई पर्याप्त मजदुर, उपकरण परिचालन गरेर निर्माणको कामलाई गुणस्तर रूपमा समयमै सक्न ताकेता गरेका छौँ, निर्माण व्यवसायीलाई काममा फर्काउन नै अप्ठ्यारो हुने गरेको छ,” उहाँले भन्नुभयो । चालू आवको तेस्रो चौमासिकमा मात्र ठेकेदारको योजना फर्किएकाले संघ र प्रदेशका बहुवर्षीय योजना सम्पन्न नहुने सम्भावना बढेको छ । त्यस्तै संंघ सरकारबाट २०७४ सालदेखि सुरु भएको बेनी–बागलुङ सडकअन्तर्गतको करिब चार किलोमिटर सडकले पनि पूर्णता पाउन सकेको छैन । हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको योजनाले कहिले पूर्णता पाउने हो थाहा छैन ।

कार्यालय प्रमुख अधिकारीले निर्माण कम्पनीले डोजर लगाएर नाली सरसफाइको काम अघि बढाएको जानकारी दिए ।जिल्लाबाट निर्वाचित संघ र प्रदेशका सांसद तथा जिल्लाका नेताले विकास योजना कार्यान्वयनलाई गति दिन कार्यालय र निर्माण ब्यवसायी बीचको प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । योजना ठेक्का लिने काम पनि अघि बढाउने तर कालोपत्रे गर्ने समयमा अलपत्र पार्ने निर्माण व्यवसायीको बदमासीले जनतालाई सास्ती भएको रघुगंगाका युवा नेता दिपक कार्कीले बताउनुभयो । “योजना अलपत्र पार्ने ठेकेदारलाई राजनीतिक संरक्षण गर्नु नै गलत छ ।” जिल्लामा सडक, स्वास्थ्य क्षेत्रका भवन, खानेपानी, सिचाइँलगायतका योजना निर्माण व्यवासायीको लापरबाही र बजेट अभावले अलपत्र अवस्थामा हँुदा जनताले सास्ती भोग्दै आउनुपरेको छ ।

भवन निर्माणको काम सक्नुपर्ने समय गुजारिसकेको बेनी अस्पतालको भवन निर्माण ठेकेदारलगायत अन्य योजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यहरू रेशम जुग्जाली, हरिबहादुर भण्डारी, विमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत स्थानीय तहका जनप्रतिनिधिसमेत सक्रिय भएपनि विकास कामहरु समयमै सम्पन्न हुन सकेको छैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l