सामुदायिक वनलाई कृषि वन र पर्या पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड

  • २२ चैत्र २०७९, बुधबार
  • 407 पटक पढिएको

बेनी, २२ चैत । सामुदायिक वनलाई कृषि वनको रुपमा विकास गर्न माग गरिएको । सामुदायिक वन उपभोक्ता महासंघ, बेनी नगरपालिका स्तरीय दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने बत्ताहरुले वन संरक्षण संगै वनको उचित उपयोगका लागि आबश्यक नीति निर्माणमा राज्यले चासो दिनुपर्नेमा जोड दिएका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनको जिम्मेवारी संगै उचित उपयोगको अधिकार स्थानीयबासीमा रहने बताउनुभयो । उहाँले सामुदायिक वनका वन पैदावारहरुको सहज रुपमा उपभोग गर्ने नीति आबश्यक रहेकोमा जोड दिदै वनलाई काठ, दाउरा र घाँसको उपभोगको लागि मात्रै प्रयोग गर्न नहुने बताउनुभयो ।
‘‘ सामुदायिक वनलाई कृषि वनको रुपमा विकास गर्न जरुरी छ, त्यसको लागि वनमा कृषिजन्य उद्यम, नर्सरी, जडिबुटी खेती र पर्या पर्यटन मार्फत उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनतर्फ अघि बढ्नुपर्छ, त्यसो गर्न सकेमा रुख काट्नुपर्दैन,टिकट काटेर आम्दानी गर्न सम्भव छ’’– बास्तोलाले भन्नुभयो । खाली ठाउँहरुमा पर्यटन पूर्वाधार पार्क निर्माण गर्न सकेमा त्यसले समितिको दिगो आम्दानी र उपभोक्ताको आर्थिक समृद्धिमा टेवा पु¥याउने उहाँको भनाई थियो ।
कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताउँदै वन एने, विनियम र कार्ययोजना अनुरुप प्रकृया मिलायर वन पैदावार उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दिगो वन व्यवस्थापनको राष्ट्रिय नीति निर्माणमा ढिलाई हुँदा वनमा काठ कुहिएर खेर जाने र विदेशबाट करोडौँका काठहरु आयात गर्नुपर्ने अवस्थाले मुलुकको अर्थतन्त्र नै प्रभावित बनेको बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले दाउरा र काठको बैकल्पिक स्रोतको बढ्दो प्रयोगले वनमा काठ र दाउराहरु खेर जान थालेको बताउँदै वनलाई बहुआयामिक रुपमा उपयोग गर्न उपभोक्ताहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा महासंघका गण्डकी प्रदेशका सहसचिब सिता कुमारी गुरुङ, पूर्व जिल्ला अध्यक्ष देवबहादुर घले, जिल्ला अध्यक्ष जिवन कार्की, बेनी नगरपालिका स्तरीय समितिका अध्यक्ष मुक्ति खड्का, बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्बर १० का अध्यक्ष मसबीर रोका, गाजने सामुदायिक वनका अध्यक्ष यामबहादुर बानियाँ,माझखेत भुतभुते सामुदायिक वनका सचिब देवी केसी लगायतले सामुदायिक वनको बहुआयामीक उपयोगका लागि आबश्यक नीति निर्माणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
अध्यक्ष खड्काको अध्यक्षता, उपाध्यक्ष गणेश बानियाँको स्वागत र सचिब सुन्तली जिसीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।