कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण

  • १९ चैत्र २०७९, आईतवार
  • धिरन खत्री
  • 535 पटक पढिएको

 

म्याग्दी, १९ फागुन । म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हँुदै आएको कालीपुलमा यात्रुहरुलाई सहज सुविधाका लागि टर्मिनल भवन गुरुयोजना अनुसार निर्माण गरिएको बेनी नगरपालिका मेयर सुरत केसीले बताउनुभयो ।

सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङले भ्याटसहित दुई करोड ८५ लाखमा टर्मिनल निर्माणका लागि शुभ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको आयोजनाकी इन्जिनियर विना साकटुले जानकारी दिनुभयो । उहाँले भवन निर्माण कार्य सम्पन्न भएको छ, केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो।“सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा टर्मिनल भवनमा छ,” उहाँले भन्नुभयो, “अपांगमैत्री टर्मिनल भवनमा नगरले टिक काउण्टर सञ्चालनका लागि प्रयोग गर्नेछ ।”


आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले टर्मिनल भवनमामात्र टिकट काउण्टर राख्न पाउछन् । आगामी दिनमा टर्मिनल भवनबाहेक अन्य सार्वजनिक क्षेत्रमा काउण्टर राख्न नगरपालिकाले नदिने भन्नुभयो ।

“भवनभित्र आवश्यक पूर्वाधार निर्माण नगरले गर्छ । सबै यातायात व्यवसायीको टिकट काउण्टर सञ्चालन भवनमा भएमा यात्रुलाई सहज हुन्छ,” मेयर केसीले भन्नुभयो, “भवनमा काउण्टर राख्नका लागि यातायात व्यवसायीलाई आवेदनका लागि नगरले सूचना सार्वजनिक गरेको छ ।”

बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्किङस्थल कालीपुल बसपार्क हो । यातायातको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित फराकिलो रूपमा सञ्चालन गर्न नगरपालिका लागिपरेको छ ।

बसपार्क निर्माण गर्ने २०७४ को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको छ । २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l