एसईई आजदेखि सुरु

  • १७ चैत्र २०७९, शुक्रबार
  • 291 पटक पढिएको

 

म्याग्दी, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ ।

परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन। परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो ।


पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ ।

कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए। बोर्डले परीक्षामा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने जनाएको छ । परीक्षामा बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने जनाइएको छ ।