९ जना आमाहरुले एसइई दिदै

  • १५ चैत्र २०७९, बुधबार
  • 417 पटक पढिएको

 

बेनी, १५ चैत । शुक्रबारदेखि सुरु हुने  माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई गरेको हो ।


यस बर्षको एसइई परिक्षामा विद्यालयबाट ५० बर्ष डिलकुमारी पुर्जा, ३७ बर्षकी इन्द्रामती फगामी, ३५ बर्षकी संगिता छिनाल, ५७ बर्षकी राधादेवी पुन, ५४ बर्षकी तुलकमारी मल्ल केसी, ३९ बर्ष धनकुमारी विक, ४० बर्षकी रामदेवी पुन, ४९ बर्षकी विष्णुकुमारी गुरुङ र २८ बर्षकी पुजा छन्त्याल सहभागि हुने संचालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनी सामुदायिक विद्यालय अन्तरगत २०७३ सालमा स्थापना भएको उज्यालो बैकल्पीक विद्यालय मंगलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन संचालन गरिदै आएको छ।

आमाहरुको पढ्ने धोको पुरा गर्नका लागि संचालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दाताहरुमा प्राप्त चन्द्राबाट विद्यालय संचालन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । विद्यालयबाट अघिल्लो बर्ष ७ जना आमाहरुले एसइई पास गर्नुभएको थियो । यस विद्यालयमा २० बर्ष भन्दामाथिका ३९ जना आमाहरु अध्ययनरत छन् ।