प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत, १७२ सांसदको समर्थन
- ६ चैत्र २०७९, सोमबार
- 391 पटक पढिएको
काठमाडौँ, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।
जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे । यस्तै एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।
यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए। यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए ।यो बीचमा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो।
दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको एमाले–माओवादीसहित ७ दलको सत्ता गठबन्धन भत्किएको हो ।
प्रचण्डले विश्वासको मत पाएसँगै पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन औपचारिक रुपमै फेरि ब्युतिन पुगेको छ । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।