बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

  • १ चैत्र २०७९, बुधबार
  • 498 पटक पढिएको

 

म्याग्दी, १ चैत्र । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो।

मन्त्री जुग्जालीले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारको अनिवार्य आवश्यक पर्ने बताउनुभयो । ‘खेलकुदको पूर्वाधार भए खेलाडीलाई सहज हुन्छ, जिल्लाभित्रका अलपत्र योजनामा खेलमैदान समेत छन्, पूर्णता दिन निरन्तर ताकेता गरिरहेको छु’ मन्त्री जुग्जालीले भन्नुभयो । सोही अवसरमा बेनी नगरपालिकामा मेयर सुरत केसीले नियमित बजेटबाट खेलकुद क्षेत्रको विकास सम्भव नभएकाले पहुँचबाटै बजेट ल्याउनुपर्ने बताउनुभयो ।


उहाँले नगरपालिकाको प्रयासमा सदरमुकाम बेनीको खेलमैदानको काम भइरहेपनि प्रयाप्त बजेट नभएको जानकारी गराउनुभयो । सोही अवसरमा प्रमुख जिल्ला अधिकरी तुलसीराम पौडेलले खेलकुद गतिविधिलाई मर्यादित र खेलमैत्री बनाउनुपर्ने बताउनुभयो । उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद हरि भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, खेलाडीको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी कपका संयोजक बिक्रम सुबेदी, स्वागत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र सञ्चालन पत्रकार कृष्ण जिसीले गरेका थिए । म्याग्दीमा पहिलोपटक सुरु भएको लिग खेल १० दिनसम्म संचालन हुने छ ।


आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगितामा १० क्लवको सहभागिता रहेको म्याग्दी कप ब्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताउनुभयो । प्रतियोगितामा समुहबाट विजेता र उपविजेता सेमिफाईनलमा प्रवेश गर्ने छन् ।सेमिफाईनलमा समुह ए को विजेता र समुह वि को उपविजेता र समुह वि को विजेता र समुह ए को उपविजेता विच प्रतिस्पर्धा हुनेछ । म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।