पल्सर स्पोर्ट्स अवार्डबाट अरुणा वर्ष खेलाडी घोषित

  • २३ फाल्गुन २०७९, मंगलवार
  • 469 पटक पढिएको

काठमाण्डाै २३ फागुन । फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् ।

पुरुषतर्फ अन्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै यो अवार्ड जिते । अन्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछाडि पारिन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि रक्षा गरेको थियो ।
वर्ष खेलाडी अवार्डसँगै अन्जन र अरुणाले पल्सर मोटरसाइल प्राप्त गरे ।भलिबलकी उषा भण्डारीले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । ईसेवामा भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उनी विजेता भएकी हुन् । उनले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । यो अवार्डको मनोनयनमा क्रिकेटको आसिफ सेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड भने फुटबलका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जिते । उनको प्रशिक्षणमा नेपालले माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियसिपको फाइनलमा पुगेको थियो । अब्दुलाले पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पारे । यो अवार्ड विजेताले पनि मोटरसाइकल पाए ।
फुटबलका मनिष डाँगी वर्ष युवा खेलाडी घोषित भए ।

उनले फुटबलका प्रिती राई, ब्याटमिन्टनकी रसिला महर्जन, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मनिषले पनि बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । उनले जापानमा सम्पन्न पारालम्पिकमा कांस्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन् । सोही वर्ष उनले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा एक स्वर्ण जितेकी थिइन् । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् ।

लाइफटाइट एचिभमेन्ट अवार्डबाट एथ्लेटिक्सका रघुराज वन्त सम्मानित भए ।
स्पेसल अवार्डबाट ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियनत्रय सरादेवि तामाङ, नङ्सल तामाङ र रत्नजित तामाङका बुबाआमा दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए । आफ्नै प्रशिक्षणबाट दानबहादुरले आफ्ना सन्तानलाई ब्याडमिन्टन खेलाउन सुरु गरेका हुन् । २०७७ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पु¥याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो ।