योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल बिषयमा अन्तरक्रिया

  • २३ फाल्गुन २०७९, मंगलवार
  • 519 पटक पढिएको

म्याग्दी, २३ फागुन । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहहरुले द्धन्द्धपीडितको बास्तविक तथ्याङ्क राख्नुपर्ने, उनीहरुको जिविकोपाजन र आयआर्जन सुधारका लागि रोजगारमुलक कार्यक्रम समावेश गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा द्धन्द्धमा ज्यान गुमाएकाहरुको सम्मानमा स्मृति पार्क र स्मारक निर्माण गर्नुपर्ने, पीडित परिवारको कथा/कथन दस्तावेजीकरण गर्नुपर्नेमामा समेत पीडितहरुको माग थियो । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले द्धन्द्धपीडितहरुको तथ्याङ्क संकलन र पीडितहरुको आवश्यकतामा रहेर योजना तथा कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धिरज पन्त, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर लगायतले द्धन्द्धपीडितको लागि राज्यले दिएको सुविधा र अधिकारहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा एडभोकेसी फोरम बागलुङका सदस्य एवम् कानुनव्यवसायि राम शर्मा, प्रदेश संयोजक कुन्जनी परियारले द्धन्द्धपीडितको सवालहरुको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । मञ्चका अध्यक्ष भिमबहादुर रिजालको अध्यक्षता, मिना कार्कीको स्वागत र सुरेन्द्र खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तत्कालीन माओवादी जनयुद्धको सशस्त्र द्धन्द्धको क्रममा म्याग्दीमा १०६ जनाले ज्यान गुमाएको, ३ जना वेपत्ता भएको र २५ जना घाईते अपांगता भएको तथ्याङ्क रहेपनि त्यो तथ्याङ्कमा अझै छुट रहेको र वास्तविक तथ्याङ्क नभएको द्धन्द्धपीडितहरुको भनाई रहेको छ ।