म्याग्दीमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

  • १९ फाल्गुन २०७९, शुक्रबार
  • धिरन खत्री
  • 485 पटक पढिएको

बेनी, १९ फागुन । म्याग्दीमा विकास निर्माणका योजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुँदा विकास बजेट खर्च न्यून भएको छ। स्थानीय सरकारका साथै संघ र प्रदेश सरकार मार्फत सञ्चालन हुने विकास निर्माण योजनाहरुको कार्यान्वनयमा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन फितलो देखिएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को साढे सात महिनामा संघ सरकार तर्फ ७.४८ प्रतिशत र प्रदेश सरकारतर्फका कार्यालयहरुको १८.९३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कोष नियन्त्रक रामभक्त रानाभाटका अनुसार, संघतर्फका कार्यालयको कुल पुँजीगत बजेट (विकास) ४४ करोड ३१ लाख १० हजार रुपैयाँमध्ये ३ करोड ३१ लाख ८७ हजार ३९० रुपैयाँ मात्रै खर्च भएको छ ।
यस्तै चालुतर्फ भने संघको ३ अर्व ४१ करोड ४४ लाख ३६ हजार ८४ रुपैयाँ बजेट रहेकोमा १ अर्व ९० करोड ९५ लाख ८१ हजार ९९६ रुपैयाँ खर्च भएको छ ।

प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट ६८ करोड ७२ लाख, ८८ हजार रुपैयाँमध्ये फागुन दोस्रो सातासम्म १३ करोड १ लाख ६८ हजार ६६६ रुपैयाँ खर्च भएको छ । यस्तै प्रदेशतर्फको चालु बजेट ४८ करोड २७ लाख ४४ हजार १८२ रुपैयाँमध्ये १४ करोड ७ लाख ७१ हजार रुपैयाँ खर्च भएको कार्यालयले जानकारी दिएको छ। जिल्लामा संघतर्फका कार्यालय १८ र प्रदेशतर्फका कार्यालय ११ वटा रहेका छन् ।

कोष नियन्त्रक रानाभाटले बजेट कार्यान्वयनको लागि कार्यालयले बार्षिक खरिद योजना तयार नगर्नु र सयममै ठेक्कापट्टा नहुनुको कारणले विकास बजेट खर्च कम भएको बताउनुभयो । सरकारले आर्थिक बर्षको अन्तिम चौमासिकमा मात्रै विकास निर्माणमा हुने ठूलो खर्चको प्रवृतिलाई सुधार गर्दै वित्तिय सुशासन कायम गर्न खोजेपनि चालु आर्थिक बर्षको आठ महिना वितिसक्दा खर्च गर्ने प्रवृत्तिमा सुधार भएको देखिदैन् ।

विकास बजेट खर्च कम देखिनुमा योजनाहरुको ठेक्का प्रक्रियाबाट प्रक्रियागत ढिलाई, ठुला कम्पनीले ठेक्का सम्झौता गरेर साना कम्पनीबाट काम गराउनु, स्थानीय जनशक्तिको प्रयोग नहुनु लगायतले समयमै काम सम्पन्न नगर्दा विकास बजेट खर्च न्यून हुदै गएको रघुगंगा गाउँपालिकाका ईन्जिनियर सुदिप गौतमले बताउनुभयो । विकास बजेट समयमै कार्यान्वयन गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, प्राविधिक, निर्माण ब्यवसायी, उपभोक्ता समितिको सक्रियता संगै र स्थानीयबासी र सरोकारवालाको समेत रचनात्मक भूमिका हुनुपर्ने इन्जिनियर गौतम बताउनुहुन्छ ।

यता विकास बजेट खर्च न्यून भनिरहदाँ निर्माण ब्यवसायीको ढिलासुस्तीको गुनासो पनि बढ्ने गरेको छ । तर, निर्माण ब्यवसायी संघ म्याग्दीका कोषाध्यक्ष प्रकाश बानियाँले योजनाको ठेक्का लिईसकेपछि पाउने पेश्की रकम कार्यालयबाट समयमै नपाउनु र विकास योजनाहरुमा काम गरे अनुसारको भुक्तानी समयमै नहुनुले विकास निर्माणको काम समयमै हुन नसकेको बताउनुहुन्छ ।

बजेट कार्यान्वयनका लागि सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गर्छ । बजेट कार्यान्वयनमा विकास योजना अनुसार बार्षिक कार्ययोजना नहुदाँ असार महिनामा विकास बजेट खर्च बढी हुने गरेको देखिन्छ । जिल्लामा संघ र प्रदेश सरकारमा मात्रै होइन स्थानीय तहको समेत विकास बजेट खर्च सन्तोषजनक देखिएको छैन् । ठेक्का मार्फत सञ्चालन गर्ने योजनाहरुमा प्रकृयागत ढिलासुस्ती र उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरुमा समिति गठन र सम्झौतामा ढिलासुस्ती गर्दा योजनाहरु कार्यान्वनमा ढिलाई हुने गरेको छ ।

बेनी नगरको पुँजीगत खर्च १७ प्रतिशत

साढे सात महिनामा बेनी नगरपालिकाले पँुजीगत खर्च १७ प्रतिशत गरेको छ । आर्थिक बर्ष २०७९/०८० मा विकासतर्फ रहेको २९ करोड ३६ लाख रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ बजेट खर्च गरेको छ । बेनीमा समग्रमा हालसम्म ३५ प्रतिशत बजेट खर्च भएको छ । कुल ७८ करोड रुपैयाँ बजेटमा २८ करोड रुपैयाँ खर्च भईसकेको लेखा अधिकृत गकुल शर्माले बताउनुभयो । बेनी नगरले हालसम्म २ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस बर्ष नगरले ४ करोड २३ लाख ७० हजार संकलन गर्ने लक्ष्य रहेको छ । नगरको यस आवमा ३ सय ४१ योजना छन् । कार्यालयबाट ९० वटा योजना सम्झौता गरेको छ भने ७९ वटा सम्पन्न गरेको योजना शाखाका चन्द्रदत्त शर्माले जानकारी दिनुभयो । नगरले ५ लाख रुपैयाँ सम्मका योजना वडाबाट सम्झौता गर्दैै आएको छ ।

मंगलामा विकास तर्फ १० प्रतिशत बजेट खर्च

मंगला गाउँपालिकामा साढे सात महिनामा विकासतर्फ १० प्रतिशत बजेट खर्च भएको छ । विकासतर्फ रहेको १५ करोड ५१ लाख १ हजार रुपैयाँ बजेट मध्ये १ करोड ६१ लाख ६८ हजार रुपैयाँ बजेट खर्च भएको लेखा प्रमुख भविलाल उपाध्या शर्माले जानकारी दिनुभयो । चालुतर्फ मंगलामा २८ करोड ४ लाख ६८ हजार ९४० रुपैयाँ बजेटमध्ये ११ करोड ३८ लाख ९५ हजार ७३२ रुपैयाँ खर्च भएको छ । साढे सात महिनामा चालुमा ४०.०६ प्रतिशत बजेट खर्च भएको लेखा प्रमुख शर्माले जानकारी दिनुभयो । समग्रमा गाउँपालिकामा २९.२१ प्रतिशत बजेट खर्च भएको छ । चालु आवको कुल ४३ करोड ६३ लाख ७० हजार ५४६ रुपैयाँ बजेटमध्ये १३ करोड ६४ हजार ५४९ रुपैयाँ बजेट खर्च भएको छ।
मंगलामो १५० योजनाहरुमध्ये ९० योजना सम्झौता भईसकेका छन् । हालसम्म २० वटा योजना सम्पन्न भएको योजना अधिकृत सुदर्शन पौडेलले बताउनुभयो । यस फागुन महिना भित्र सबै योजना सम्झौता भएर कार्यान्वयनमा अघि बढ्ने छन्’– योजना प्रमुख पौडलले भन्नुभयो ।

रघुगंगामा पुँजीगत खर्च १९ प्रतिशत

रघुगंगा गाउँपालिकामा साढे सात महिनमा पुँजीगत खर्च १९ प्रतिशत भएको छ । चालु आवको पुँजीगततर्फ १७ करोड ५५ लाख रुपैयाँ बजेटमध्ये ३ करोड २० लाख रुपैयाँ खर्च भएको लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाको चालुतर्फ ३३ करोड ८१ लाख ८३ हजार रुपैयाँ बजेटमध्ये १३ करोड ७५ लाख खर्च भएको छ । समग्रमा यस अवधिमा ३३ प्रतिशत बजेट खर्च छ । यस बर्ष कुल ५१ करोड ३७ लाख १८ हजार रुपैयाँ बजेट मध्ये १६ करोड ९२ लाख २५ हजार रुपैयाँ बजेट खर्च भएको लेखा अधिकृत सुवेदीले बताउनुभयो । यस आर्थिक बर्षको हालसम्म ५१ लाख ५ हजार रुपैयाँ राजश्व संकलन भएको छ। आन्तरिक राजश्व संकलनको लक्ष्य १ करोड २७ लाख रुपैयाँ रहेको छ ।
रघुगंगामा यस बर्ष १८० वटा विकास निर्माण योजना छनौट भएका मध्ये ९५ वटा योजना सम्झौता भएका छन् भने ४० वटा योजना सम्पन्न भएको योजना शाखाका प्रमुख योगेन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

धवलागिरीमा विकासतर्फ १८ प्रतिशत खर्च

धवलागिरी गाउँपालिकामा साढे सात महिनामा विकासतर्फको पुजीगत बजेट १८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रहेको १५ करोड १३ लाख ३२ हजार ८१९ रुपैया बजेटमध्ये २ करोड ८२ लाख २४ हजार ६९१ रुपैयाँ बजेट खर्च भएको लेखा प्रमुख तिलक शंकर पौडेलले बताउनुभयो । सामाजिक सुरक्षाबाहेक चालुतर्फ ३० करोड ४३ लाख ५९ हजार रुपैयाँ बजेटमध्ये ११ करोड १६ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । यस आर्थिक बर्षको साढे सातमहिनामा कुल बजेटको ३० प्रतिशत बजेट खर्च भएको छ । चालु आवको ४५ करोड ८१ लख ९१ ह्जार ८१० रुपैया बजेट मध्ये १३ करोड ९८ लाख ६९ हजवार ७४० रुपैयाँ खर्च भएको लेखाप्रमुख पौडेलले जानकारी दिनुभएको छ । धवलागिरीमा यस वर्ष १०५ वटा योजनाहरु छनौट मध्ये ९० योजना सम्झौता भएका छन् भने १० वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

मालिकामा पुँजीगत खर्च १६ प्रतिशत

चालु आर्थिक बर्षको साढे सात महिनामा मालिका गाउँपालिको १६.१ पुँजीगत बजेट खर्च गरेको छ । चालु आव २०७९/८० मा पुँजीगततर्फ रहेको २२ करोड २७ लाख ३० हजार रुपैयाँ बजेटमध्ये ३ करोड ५६ लाख ९७ हजार ३२१ रुपैयाँ बजेट खर्च भएको लेखा प्रमुख सागर पौडेलले बताउनुभयो । चालुपतर्m रहेको २९ करोड ८६ लाख ९७ हजार रपैयाँ बजेट मध्ये १२ करोड १४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । चालुतर्फ ४०.६५ प्रतिशत बजेट खर्च भएको छ। चालु आवको मालिकामा ५२ करोड १४ लाख २७ हजार रुपैया कुल बजेट मध्ये १५ करोड ७१ लख ४३ हजार ७२२ रुपैया बजेट खर्च भएको छ । समग्रम ३०.१३ प्रतिशत बजेट खर्च भएको लेखा शाखाले जानकारी दिएको छ। मलिकामा यस बर्ष १ सय ६० वटा योजना छनौट भएकोमा ६० वटा सम्झौता भएर काम भइरहेका । अहिलेसम्म ३० वटा योजना सम्पन्न भएको योजना प्रमुख सोमबहादुर केसीले जानकारी दिनुभयो ।

अन्नपूर्णमा पुँजीगत खर्च ८. २५ प्रतिशत

अन्नपूर्ण गाउँपालिकाले साढे सात महिनाको अवधिमा ८.२५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ। चालु आवमा पुँजीगत तर्फ भएको १६ करोड ४ लाख ८२ हजार रुपैयाँ बजेटमध्ये १ करोड ३२ लाख २५ हजार रुपैया खर्च भएको लेखा प्रमुख प्रेम पराजुलीले बताउनुभयो । त्यस्तै चालु तर्फ भएको ३३ करोड ५८ लाख २४ हजार रुपैयाँ बजेटमध्ये १३ करोड ५८ लाख २४ हजार रुपैयाँ बजेट खर्च भएको छ । चालतर्फ हालसम्म ४०.३२ प्रतिश खर्च भउको छ ।
समग्रमा अन्नपूर्णमा २९.९७ प्रतिशत बजेट खर्च छ । कुल ५१ करोड ७३ लाख ३६ हजार रपैयाँ बजेट मध्ये १४ करोड ९० लाख ५९ हजार ५०८ रुपैयाँ बजेट खर्च भएको लेखा प्रमुख पराजुलीले बताउनुभयो । चालु आवमा अन्नपूर्णमा १४७ वटा योजना छन् । जसमध्यै ४० वटा योजना सम्झौता भएका छन् भने ८ वटा योजना सम्पन्न भईसकेको योजना शाखाका पुजा अर्यालले बताउनुभयो । अन्नपूर्णमा ३ लाख रुपैया बजेट माथिका योजना पालिकाबाट र ३ लाख सम्मका योजना वडाबाट नै सम्झौता हुनेर योजनाको काम सकिएपछि भुक्तानीको लागि मात्रै पालिकामा आउने भएकाले वडा स्तरीय योजनाहरुको विस्तृत विवरण प्राप्त हुन नसकेको अर्यालले जानकारी दिनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l