सन्दीपलाई विदेश जान अनुमति

  • १५ फाल्गुन २०७९, सोमबार
  • 337 पटक पढिएको

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।

अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ । यस्तै लामिछानेको मुद्दा फास्ट ट्याकमा टुंगो लगाउन सर्वोच्चले जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ ।

बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

नाबालिग बलात्कारको कसुरमा धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।