बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो

  • १५ फाल्गुन २०७९, सोमबार
  • 806 पटक पढिएको

 

म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी दिएको हो ।

बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने छ । फागुन १ गतेदेखि १५ गतेसम्म लागु गरिएको समय तालिकालाई फागुन ३० गतेसम्म निरन्तरता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले फागुन १६ गते देखि ३० गतेसम्म बिहान ६–८, दिउँसो ११:३० देखि १:३० र राती ८:३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवत जावत बन्द गरिने सूचना सार्वजनिक गरेका छन् ।

सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुदाँ दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य प्रभावित बनेपछि समय तालिका बनाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दुरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग रु. १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता लगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई निर्माण कम्पनीले तिव्रता दिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाईमा कालोपत्रे गरिने छ । यो सडक प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङबासी र पर्यटकले आवातजावातमा प्रयोग गर्छन ।