राष्ट्रपतिद्वारा पर्वतको आदिवराह मन्दिर उद्घघाटन

  • १० फाल्गुन २०७९, बुधबार
  • 319 पटक पढिएको

म्याग्दी, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन गर्नुभएको छ । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीलगायत व्यक्तिहरू आउनुभएको हो ।


पर्यटकीय सम्भावनायुक्त क्षेत्र वराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।


बराह तालको बीच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल वराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । करिब डेढ करोड रुपियाँ खर्च भएको मन्दिर पुनर्निर्माणमा रवीन्द्रजङ्ग लामिछानेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ ।


समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको वराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल छन् । साथै, राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभयो ।