बाइकर्स म्याग्दीद्धारा पर्यटकीय स्थल खोप्रामा हेलिप्याट निर्माण गरि सूचना बोर्ड स्थापना

  • २२ माघ २०७९, आईतवार
  • 463 पटक पढिएको

म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय स्थल खोप्रालेकमा बाइकर्स म्याग्दीले हेलिप्याड निर्माण गरि पर्यटन सूचना बोर्ड स्थापना गरेका छन् । म्याग्दीका विभिन्न पर्यटकीय गन्तव्यहरुको चिनारीमा सक्रिय बाइकर्स समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् ।
खोप्रालेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका लागि हेलीप्याड समेत बनाएका छन् । खोप्रामा दर्जनौँ हिमालका दृष्य लिने बेलामा सहज हुने स्थानमा बोर्ड राखिएको संयोजक गोविन्द्र क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४० हजारको खर्चमा उक्त काम गरिएको छ । सदरमुकाम बेनी देखि दुई दिनमा खोप्रा पुग्न सकिन्छ ।
समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोप्रा प्राकृतिक ‘भ्यू प्वोइन्ट’ हो । यहाँबाट पुथा, गुर्जा, धवलागिरी, मानापाथी, नीलगिरी, अन्नपूर्ण, बराह शिखरलगायतका हिमचुचुराहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । खोप्राबाट नागबेली परेर फेदीमा बगेको कालीगण्डकी देखि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । सुर्योदय, सुर्यास्तको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडि बस्तीको मनोरम दृष्य अवलोकन गर्न सकिने खोप्रा भन्दा तलको क्षेत्रमा हरियाली जंगल रहेको छ ।