अन्नपूर्णको १६ औं गाउँसभामा थप दुई करोड बजेट प्रस्ताव

  • १८ माघ २०७९, बुधबार
  • 267 पटक पढिएको

 

म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १६ औं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७्७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन छलफलका लागि प्रस्तुत र लेखा समिति गठनको प्रक्रीया शुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले गाउँसभा सदस्यहरुलाई प्रस्तुत बजेट, बिधेयक, योजना र प्रस्तावको अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराएर माघ २१ गते ११ बजेसम्मका लागि सभा स्थगित गरिएको जानकारी दिनुभयो । “सभामा प्रस्तुत विषय र मुद्दाका विषयमा सदस्यहरुले अध्ययन गरेर प्रष्ट बनुन भनेर दुई दिनको समय उपलब्ध गराइएको हो”, उहाँले भन्नुभयो “कार्यपालिका र गाउँसभाका सदस्यहरुले बजेट, बिधेयक र निर्णयको अपनत्व लिने वातावरण बनाउने अभ्यास गरेका छौ ।”

गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गत असारमा पारित भएका योजनामा थप भएको सहित ४९ वटा योजनाका लागि दुई करोड रपैयाँ अल्या बजेट बिनियोजन गरेको प्रस्ताव गर्नुभयो । यसअघि ५० लाख रुपैयाँ बिनियोजन भएको गाउँपालिकाको जग्गा तथा भवन निर्माण योजनाका लागि थप ५० लाख रुपैयाँ प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको ११ वटा योजनाका लागि बिनियोजन भएको४९ लाख ६४ हजार रपैयाँ बजेट सभामा अनुमोदनका लागि पेश भएको छ । १७ वटा योजना तथा कार्यक्रम संसोधनका लागि पेश भएका छन् । गत असारको गाउँसभाले पारित गरेका १०७ वटा मध्य २८ वटा सम्झौता र ६ वटा सम्पन्न भएका छन् । दशैमा १२ वटा सडक मर्मतका लागि बजेट बिनियोजन भएकोमा आठ वटाको फरफारक भएको छ । ३ लाख रुपैयाँ भन्दा कम बजेटका योजनाहरु वडाबाट सम्झौता गरिएको छ ।

महभिर–हिस्तान–राम्चे–नागी ४२ किलोमिटर र घारखोला–नेपाने–पाउद्धार–घस्केखोरीया–स्वाँत–मुलपानी २० किलोमिटर सडक योजना ठेक्का प्रक्रियामा लगिएको दुई करोड पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । भुरुङ्ग–तातोपानी कुण्ड व्यवस्थापनको बहुवर्षीय ठेक्का आव्हानको तयारीमा रहेको, दोवाको मारकामा पालिका स्तरीय अस्पताल भवन निर्माण ९० प्रतिशत पुरा भएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक करोड ४५ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखिएको छ महिनाको अवधीमा एक करोड २८ लाख ८५ हजार रपैयाँ ४३१ संकलन भइसकेको छ । चालु आवमा कुल ४९ करोड ७३ लाख ३६ हजार रपैयाँ बजेट बिनियोजन भएकोमा २७.६४ प्रतिशत अथवा १३ करोड ७५ लाख १० हजार ४९१ रुपैयाँ खर्च भएको छ ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले आर्थिक वर्ष २०७७/७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार पाँच करोड ६७ लाख ७८ हजार बेरुजु रहेको र लेखा समिति नहुँदा बेरुजु सम्परिक्षण गर्न समस्या भएको जानकारी गराउनुभयो ।
लेखा समितिमा कार्यपालिका सदस्य समेत रहनुभएका वडा न ८ का अध्यक्ष खमबहादुर गर्बुजा, वडा नम्बर ४ का सदस्य श्याम पुर्जा, ५ का सदस्य पूर्ण पाइजा र ६ का सदस्य पुष्पा बरुवालले दावी गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भन्दा फरक दलबाट निर्वाचित गाउँसभा सदस्यको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था छ ।सभामा लेखा समितिको नेतृत्व, काम, कर्तब्य र अधिकारका विषयमा सभाका सदस्यहरुले आफ्नो दावी र भनाई राख्नु भएको थियो ।

सभामा अन्नपूर्ण गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक–२०७९ टेबुल भएको छ । प्रशासकीय अधिकृत शर्माले आर्थिक वर्ष २०७९÷८० देखि ८३÷८४ सम्मको पञ्चवर्षीय आवधिक योजना, राजस्व सुधार कार्ययोजना, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण रणनीतिक योजना २०७९ अनुमोदनका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।