अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता सञ्चालन गर्न बार्षिक रु २ लाख सहयोग

  • १५ माघ २०७९, आईतवार
  • 389 पटक पढिएको

म्याग्दी १५ माघ । म्याग्दीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला भलिवल संघ र गौमति खत्री विकास कोष बिच म्याग्दीमा हरेक बर्ष अन्तर माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने सम्झौता भएको छ ।
भ्लिवल संघले प्रतियोगिता आयोजना गर्ने र कोषले बार्षिक रुपमा रु २ लाख नगद सहयोग गर्ने सम्झौता भएको छ । आइतवार संघका अध्यक्ष तेजेन्द्र बानियाँ र बेनी नगरपालिका ४ बास्कुना घर भइ हाल न्युजिल्याण्डमा रहनुभएका कोषका संस्थापक अध्यक्ष लालबहादुर केसीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हरेक बर्ष आयोजना हुने अन्तरमावि छात्र र छात्रा भलिवल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा कोषले रु २ लाख सहयोग गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ । तत्कालको लागि १० बर्षसम्म लागु गर्ने गरि सहमतीपत्रमा हस्ताक्षर भएको भलिबल संघका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
‘म्याग्दी भलिवल कप’को रुपमा आयोजना हुने प्रतियोगितामा जिल्लाभरका मावि तहमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये उमेर समूह तोकेर खेल सञ्चालन गरिने संघले जनाएको छ । राष्ट्रिय खेलको मान्यता पाएको भलिवल खेललाई ओझेल पर्न नदिन र जिल्लामा भलिवल खेलतर्फ बढेको लोकप्रियतालाई कायम गर्दै नयाँ खेलाडीहरुको पहिचान र खेलप्रतिभाको प्रस्फुटनका लागि विद्यालय तहको जिल्लाव्यापी अन्तरमावि स्तरिय भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको सघका अध्यक्ष बानियाँले बताउनुभयो ।
म्याग्दी भविलको लागि उर्भर भूमि रहेको र यस खेलबाट जिल्लामा स्थापित खेलाडीहरु उत्पादन भैरहेको सन्दर्भमा जिल्लामा थप लुकेर रहेका भलिवल प्रतिभा र क्षमताको खोजीमा सघाउन आफुले १० बर्षमा रु २० लाख सहयोग गर्ने प्रतिबद्धता सहित सहमतीपत्रमा हस्ताक्षर गरेको सहयोगदाता केसीले बताउनुभयो । उक्त कार्यक्रममा जिल्ला भलिवल संघले गौमती खत्री विकास कोषका संस्थापक अध्यक्ष सहयोगदाता केसी एवम् कोषका सदस्य तथा वेनी नगरपालिका–४ का वडा सदस्य केन खत्रीलाई स्वागत तथा सम्मान समेत गरेका थिए ।