मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

  • १३ माघ २०७९, शुक्रबार
  • धिरन खत्री
  • 717 पटक पढिएको

माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् ।


प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका स्तरमा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको खेलप्रतिभाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पालिका स्तरमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत जिल्ला,प्रदेश र राष्ट्रिय स्तरमा पुग्नका लागि विद्यार्थीहरुमा खेलप्रतिभाको विकास गराउन मद्दत पुग्ने उहाँले बताउनुभयो ।

विद्यालयहरुमा खेल पुर्वाधारको विकास गरेर विद्यार्थीहरुलाई खेलप्रति आकर्षीत गर्न पालिकाले आवश्यक योजना बनाउने उहाँले सुझाव दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पालिका स्तरमा हुने प्रतियोगिताले विद्यार्थीहरुमा भएको खेलप्रतिभाको प्रष्फुटन गरी खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्डी र भलिबलको १५ वटा इभेन्ट्मा ३० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँले बताउनुभयो ।


द्धितीयले ३० हजार,तृतीय हुनेले २० हजार रुपैयाँ नगदका साथमा ट्रफी र मेडल पाउनेछन् । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ । उद्घाटन समारोहमा भएको मार्च पासमा मंगला माविले प्रथम स्थान हासिल गरेको छ ।

१५०० मिटरको दौड छात्रतर्फमा राष्ट्रिय जनजागृती मावि पूर्णगाउँका इश्वर न्यौपाने प्रथम,दिपशिखा मावि कुहुँका बुद्धी खत्री द्धितीय र महेन्द्ररत्न मावि बरंजाका डेकबहादुर थापाले तृतीय स्थान हासिल गर्नुभयो ।छात्रातर्फको १५०० मिटर दौडमा मंगला माविकी छात्रा रिकजना माझी प्रथम, राष्ट्रिय जनजागृति माविकी तारा कुँवर द्धितिय र दिपशिखा माविकी अनुशा किसान तृतीय हुनुभयो ।


विजेता खेलाडीहरुलाई जिसस प्रमुख थापा,उपप्रमुख डिलकुमारी खत्री,गापा अध्यक्ष सतप्रसाद रोका,प्रमुख प्रशासकीय अधिकृत खत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


गापा अध्यक्ष रोकाको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा गापाका प्रवक्ता एकजित रोकाको स्वागत र पालिकाका शिक्षा शाखाका प्रमुख बानियाँको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता तिनदिनसम्म सञ्चालन हुने छ । उद्घाटन पूर्व विद्यार्थी खेलाडी,शिक्षक,जनप्रतिनिधि लगायत सहभागीहरुले बावियाचौरमा ¥याली निकाले थिए ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l