दरवाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  • ११ माघ २०७९, बुधबार
  • 375 पटक पढिएको

 

दरवाङ, ११ माघ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाको शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ् । १५०० मिटर छात्र दौडको उद्घाटन खेलमा विवाद हुँदा नतिजा सार्वजनिक भएको छैन् ।

१५०० मिटर छात्रातर्फ भिम माविले स्वर्ण, किसानी माविले रजत र अमरज्योती माविले कास्य पदक जितेका छन् । सर्ट फुटको छात्रतर्फ केवी एकेडेमीले स्वर्ण, किसानी माविले रजत र भिम माविले कास्य पदक जितेका छन् । सर्टफुटको छात्रातर्फ जनप्रिय माविले स्वर्ण, ओखरबोट माविले रजत र भिम माविले कास्य पदक जितेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुदलाई शिक्षासँग जोड्न र विद्यार्थीको प्रतिभा पहिचानमा प्रतियोगिता सहयोगी बन्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले पालिका स्तरीय प्रतियोगिताबाट छनौट हुने विद्यार्थीलाई जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिइने बताउनुभयो । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।