अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)

  • ३० पुष २०७९, शनिबार
  • 447 पटक पढिएको

बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ ।

 

अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको शिलालाई मुख्य मुर्तिको रुपमा राख्नका लागि लैजान लागिएको छ । भूगर्भविद्, शिलाविद् , प्राविधिक र विज्ञ समेतको टोलीले दुई साताको समय लगाएर बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा दुई थान शिलाको पहिचान गरेका हुन् । उक्त शिलाको शनिवार अयोध्यामा शिला उपहारका समन्वयर्कता प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि लगायतको उच्च स्तरीय टोलीले अवलोकन गर्नुभएको छ ।
अयोध्यामा भारत नेपालका प्रतिनिधि मण्डलबिच भएको छलफलमा निर्माणधिन राम मन्दिरमा मुख्य मुर्तिका रुपमा कालीगण्डकी नदीका शिला लैजान इच्छा व्यक्त भएपछि आफुले समन्वय गरेर नेपालको तर्फबाट अयोध्यामा कालीगण्डकीको शिला उपहार पठाउने प्रकृया अघि बढाएको निधिले बताउनुभयो । ‘‘अयोध्या र जानकी मन्दिरका बिचमा घनिष्ट सम्बन्ध छ, अयोध्याको राम मन्दिरमा यहाँको शिला मुख्य मुर्तिका रुपमा रहने अवस्थाले कालीगण्डकी नदिको महिमा थप बढाउँछ’’–निधिले भन्नुभयो ।
उहाँका अनुसार, भारतबाट भएको पत्राचार बमोजिम गण्डकी प्रदेश र संघीय सरकारले अयोध्यामा कालीगण्डकीको शिला उपहार पठाउने निर्णय गरिसकेका छन् । विज्ञ टोलीले अयोध्या लैजान पहिचान गरेका क्यालसाइट र क्वार्जराइट नामकरण गरिएका १६ र १८ टनका दुई शिलालाई हस्तान्तरणको प्रकृया अघि बढाइएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । उहाँका अनुसार, शिला उत्खनन् गर्नुपूर्व आईतवार क्षमा पुजा गरेर शिलाको पुजा गरिनेछ । शिला पुजामा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, जानकी मन्दिरका महन्त लगायतको समेत सहभागीता रहने भएको छ । अयोध्या लैजान पहिचान भएका देवशिलाको नाम दिइएका शिला १ हजार बर्ष भन्दा बढी टिक्ने पुष्टि भएको छ ।
प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले दुई शिलाको पहिचान गरेर नाँपजाँच गरिसक्नुभएको छ । ।
गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने उक्त शिलालाई बेनी नगरपालिकाले भव्य भजनकृर्तन र बाजागाजा सहित विदाई गर्ने तयारी समेत गरेको छ । कालीगण्डकीको शिला अयोध्यामा कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँले शिला उत्खनन गरिने कालीगण्डकीको किनारमा समेत आबश्यक पूर्वाधार बनाएर शिला उत्खनन् गरिएको प्रतिक राख्न सके यसले यस क्षेत्रमा थप प्रचार प्रसार र कालीगण्डकीको महिमा विस्तारमा सघाउने बताउनुभयो ।