जलजलाको गाउँसभा स्थगित

  • २९ पुष २०७९, शुक्रबार
  • 255 पटक पढिएको

लामाखेत, २९ पुष । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेपछि २०७९ माघ २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।
“आज उपस्थित नभएका गाउँसभा सदस्यहरुसँग छलफल गर्छौ,” उहाँले भन्नुभयो “गाउँसभा सञ्चालन कार्यबिधि अनुसार माघ २ गते बैठक बोलाएका छौ । सो बैठकमा पनि आउनु भएन भने ४ गते हुने बैठकमा जति उपस्थित हुुनुहुन्छ त्यतीको आधारमा प्रस्ताव पारित गर्छौ ।” नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सभामा उपस्थित नभएका हुन् । नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित १९ जना जनप्रतिनिधिहरु सहभागि भएका थिए । सभामा उपस्थित नभएका कार्यपालिका सदस्य भिमसेन बराइलीले अध्यक्षले कार्यपालिकाका विषयगत समितिलाई हस्तक्षेप गरेको, एकलौटी ढंगले चलेको र विश्वास घात गरेकाले बहुमत सदस्यहरुले बहिस्कार गरेको बताउनुभयो ।

कार्यबिधि अनुसार गाउँपालिकाको बैठक र सभा सञ्चालन नभएको तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली प्रतिपनि आफूहरुको असहमति रहेको कार्यपालिका सदस्य बराइलीले बताउनुभयो । अध्यक्ष आचार्यले भने राजनीतिक पूर्वाग्रह साध्न बहुमतको दम्ब देखाउने, गाउँपालिकाको गतिबिधिलाई प्रभावित बनाउने प्रयास भएकाले कार्यबिधि अनुसार अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभो । उपाध्यक्ष दिपक आचार्य (आकाश)ले सभामा नआएका कार्यपालिका र गाउँसभा सदस्यहरुसँग छलफल भैरहेको बताउनुभयो ।