गाउँमा सरकार पुग्यो, सडकको सहज सुविधा पुगेन

  • १५ पुष २०७९, शुक्रबार
  • कमल खत्री
  • 503 पटक पढिएको

कमल खत्री
बेनी, १५ पुस : धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सूचारु भएपछि स्थानीयबासी निकै उत्साहित बने । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक पाँच बर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुले धवलागिरिमा विवादित रहेको केन्द्रको टुंगो गाउँसभा मार्फत मुनाको घट्टेखोलामा कायम गरे ।
तत्कालिन मुना गाउँ विकास समितिको भवनमा थप भौतिक पूर्वाधार निर्माण गरेर सेवा प्रवाह भैरहेको यस गाउँपालिकाबासीले सरकार गाउँमै पुगेपनि विकासका आधारभुत पूर्वाधार संगै सेवा र सुविधाबाट समेत अझै बञ्चित छन् । मुख्यगरि सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने सडक र गाउँपालिकादेखि वडा जोड्ने सडकको अवस्था दयनिय छ । यस गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अझै सडक सञ्जाल पुग्न सकेको छैन् भने दर्जनबढी अन्य वडाका बस्तीहरुमा पनि सडक पुगेको छैन् ।
सदरमुकाम बेनीदेखि गाउँपालिकाको केन्द्र मुना जोड्ने अधिकाँश सडक कच्ची रहेको छ । ‘हिउँदमा धुलो, बर्खामा हिलो’ का कारण सडक जिर्ण अवस्थामा छन् । विकासको आधारभुत पूर्वाधार मानिने सडकको सहज पहुँच नभएकै कारण धवलागिरिबासीले गाउँमा सरकार पुगेपनि विकासको अनुभुति गर्न नपाएको मुनाका स्थानीय युवा विजय भण्डारीले बताउनुभयो । ‘‘सरकार त गाउँमै आयो, तर अहिलेसम्म मोटरबाटो राम्रो बन्न सकेको छैन, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, खानेपानी लगायतका अन्य पूर्वाधारहरुको पनि कमि नै छ,’’ उहाँले भन्नुभयो । हिलो, धुलो, भीर र साँघुरा सडकमा दैनिक रुपमा सदरमुकाम बेनी आउने दर्जनौँ सवारी साधनहरु जोखिमपूर्ण तवरले ओहोर दोहोर गर्नुपर्ने बाध्यतामा छन् ।
मुनामा अहिलेसम्म बैँकको स्थापना समेत भएको छैन् । सडकको सहज अवस्था र सुरक्षाको बन्दोबस्त नहुँदा धवलागिरि गाउँपालिकाको वित्तिय कारोवार ताकममा रहेको प्रभु बैँकको शाखा मार्फत हुने गरेको छ । उपभोक्ता समितिहरुले समेत पालिकामै विक्तिय पहुँच नहुँदा सास्ती व्यहोरेका छन् । भर्खर मात्रै मुनाको घट्टेखोलामा गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण सुरु भएको छ । सडकको अवस्था स्तरीय नभएको र दुर्गम पालिकाको रुपमा रहेकाले कर्मचारीहरु समेत आउन नमान्ने र आएका पनि टिकेर नबस्ने भएकाले सदरमुकामदेखि पालिकासम्म स्तरीय सडक बनाउने योजनाको लागि पहल थालिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । धौलागिरि गाउँपालिकाको मुनालाई जिल्ला सदरमुकामसंग जोड्ने बेनी–बावियाचौर–दरबाङ–ताकम–मुना सडक पश्चिम म्याग्दीकै भाग्यरेखा मानिन्छ । जिल्लाका तीन स्थानीय तह समेटिएको यस सडकलाई स्तरीय बनाउन बजेट विनियोजन भएर आयोजना सञ्चालन भएपनि निर्माण व्यवसायिको ढिलासुस्तीले योजनाहरु थलिएका छन् । बेनीदेखि मंगला गाउँपालिका–२ सिम सम्मको सडक कालोपत्रेको काम सकिएपनि त्यहाँदेखि माथिको सडक कालोपत्रे र ग्राभेलका लागि सञ्चालन भएका आयोजना थलिएका छन् ।
                                      थलिए दुई आयोजना
मंगला, मालिका र धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरबाङ–मुना सडकखण्ड अन्तरगत सिमदेखि रनवाङ सम्मको ४ किलोमिटर सडकलाई कालोपत्रे गर्न सञ्चालन भएको सडकको काम सुस्त गतिमा अघि बढेको छ । डिबिएसटी प्रविधिको कालोपत्रे गर्ने गरि २०७८ पुस १८ मा पूर्वाधार विकास कार्यालयसंग अमर–देवसयर जेभीले रु १० करोड ७० लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक पराकिलो बनाउने लगायतका काम सुरु गरेको यस योजनाको आगामी असारसम्म निर्माण कार्य सम्पन्न गर्ने म्याद रहेको छ । हिउँदयाम मध्य भैसक्दा समेत निर्माण कम्पनीले आबश्यक जनशक्ति र निर्माण उपकरणहरु परिचालन गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रनबाङदेखि मालिका गाउँपालिकाको केन्द्र दरबाङ सम्मको ६ दशमलब ८ किलोमिटर लामो सडकलाई कालोपत्रेका लागि सञ्चालन भएको योजना अधुरो र अलपत्र परेको छ । २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको विरुवा–क्याराभान जेभीले अहिलेसम्म जम्मा ५० पतिशत मात्रै भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदक्त अधिकारीले जानकारी दिनुभयो । गत बर्षदेखि नै काम छाडेको निर्माण कम्पनी अहिलेसम्म पनि कार्यक्षेत्रमा नफर्किएपछि लिखित र फोन मार्फत पटक पटक ताकेता गरिएको उहाँले बताउनुभयो । ‘‘मुख्य ठेकेदारले काम नगर्ने, पेटीमा काम गर्नेहरुले मुल ठेकेदारबाट पैसा नपाएपछि बिचैमा काम छाड्ने भएकाले जिल्लाका ठुला आयोजना अधुरा र अलपत्र पर्ने अवस्थामा पुगका हुन, हामीले निरन्तर ताकेता गरिरहेका छौँ, बहुबर्षिय योजनाहरुमा बजेट पनि आएको छ, तर निर्माण कम्पनीहरुले काम गर्ने तत्परता देखाएका छैनन्’’–उहाँले भन्नुभयो । यस योजनामा निर्माण कम्पनीले रु १४ करोड ९७ लाख भुक्तानी लगिसकेको छ । यस बर्षका लागि मात्रै ५ करोड बजेट आएको र निर्माण कम्पनीले काम गरे थप बजेटको समेत सुनिश्चिता गर्ने मन्त्रालयबाट प्रतिबद्धता आएको कार्यालयले जनाएको छ ।
                       दरबाङ–धारापानी ग्राभेल हुँदै, धारापानी–मुना सडक अनिश्चित
मालिका गाउँपालिकादेखि धवलागिरि गाउँपालिकाको मुना जोड्ने सडकखण्ड अन्तरगत धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजनाले तिब्रता पाएको छ । दरबाङ–दाङखोला–धारापानी सम्मको ७ किलोमिटर सडकलाई ग्राभेलको लागि योजना सञ्चालन भएको छ । २०७६ चैत ४ मा रु १४ करोड ३८ लाखमा ठेक्का सम्झौता गरेको कुँबर–ब्राइट जेभीले सडक पराकिलो बनाउने, नालि निर्माण र पर्खाल लगाउने कामलाई तिब्रता दिएको छ । दरबाङदेखि दाङखोलासम्मको कामलाई तिब्रता दिइएको र ग्राभेलको लागि सबवेश समेत सडकमा पु¥याइसकिएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार, बादिकाको भीरमा सडकलाई फराकिलो बनाउने, ग्याविन पर्खाल लगाउने काम समेत सुरु भएको छ । दरबाङदेखि धारापानीसम्मको सडकलाई ६ देखि ७ मिटर फराकिलो बनाउने र ग्राभेल गर्ने गरि सञ्चालन भएको योजनाको अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । अघिल्लो बर्ष बादिकाको उकालो भिरमा सडकको नयाँ ट्याक नै खनेर ग्रेड मिलाईएको छ । गत असार सम्म रु ८ करोड ९१ लाख खर्च भएको यस योजनामा यस बर्ष रु ४ करोड बजेट आएको र निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेमा थप बजेट समेत माग गरिने कार्यालयले जनाएको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि धवलागिरि गाउँपालिका–७ धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजना सञ्चालन भएपनि त्यहाँदेखि गाउँपालिकाको केन्द्र मुना सम्मको सडकलाई भने कुनै पनि निकायबाट बजेट विनियोजन भएको छैन् । धारापानीदेखि मुना नजिकैसम्मको करिब १० किलोमिटर सडकलाई गत बर्ष भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयले सर्वे गरि डिपिआर तयार गरेको भएपनि अहिलेसम्म स्तरोन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन भएको छैन् । गाउँपालिकाको केन्द्रसम्मको जिर्ण सडकलाई स्तरीय बनाउनका लागि प्रदेश र संघीय सरकारमा पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो । ‘‘ दरबाङदेखि धारापानीसम्म ग्राभेल गर्ने सडकलाई पनि कालोपत्रे योजना माग गरेका छौँ, धारापानीदेखि मुनासम्मको सडकलाई कालोपत्रे सहित कै योजना सञ्चालन गर्न फाइल बोकेर प्रदेश र संघीय सरकारमा पुगेका छौँ’’–उपाध्यक्ष पुनले भन्नुभयो ।
                                     मध्यपहाडीको बैकल्पिक सडक अधुरो
धवलागिरिको केन्द्र म्ुनादेखि खोरिया हुँदै जलजला–ढोरपाटन–रुकुम जोड्ने सडक अधुरो रहेको छ । यो सडक निर्माण भएमा बागलुङ हुँदै निर्माण गरिएको मध्यपहाडी लोकमार्गभन्दा ६० किलोमिटर छोटो हुनेछ । मध्यपहाडीको बैकल्पिक सडकका रुपमा बेनी–दरबाङ–ताकम–मुना हुँदै ढोरपाटन र रुकुम जोड्ने गरि सडक निर्माण गर्न गाउँपालिकाका जनप्रतिनिधिहरु र जिल्लाका सांसदहरुले समेत माग गर्दै आएका छन् । धवलागिरि गाउँपालिकाले चालु आर्थिक बर्षमा पालिका र प्रदेश सरकार मार्फत पूर्वाधार तर्फ सडक विस्तारको योजनालाई प्राथमिकतामा राखेको छ । वडा नम्बर २ लुलाङ पुगेको सडकलाई गुर्जासम्म विस्तार गर्ने उदेश्यले यस बर्ष रु १ करोड २० लाखको योजना सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिकाबाट रु ४५ लाख र प्रदेश सरकार मार्फत रु ८० लाख बजेट विनियोजन भएको र निर्माण कार्य सुरु गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिनुभयो । त्यसैगरि वडा नम्बर ४ मुदीको खिबाङमा सडक सञ्जाल पु¥याउन प्रदेश सरकार मार्फत रु ५० लाखको योजना आएको छ भने मल्कबाङदेखि मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले रु २५ लाख विनियोजन गरेको छ । गाउँपालिका मार्फत सञ्चालित हुने योजनाहरु सर्वे र सम्झौताको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l