को बन्ला गण्डकीको मुख्यमन्त्री ?

  • ११ पुष २०७९, सोमबार
  • 307 पटक पढिएको

रामबहादुर थापा
पाेखरा ११ पुस । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ ।

तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ । अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्ने देखिएको छ ।

केन्द्रीय सत्ता समीकरण प्रदेशमा पनि लागू हुने र सोहीअनुसार भागबण्डा हुने स्थितिमा नयाँ गठबन्धनकै सरकार बन्नेछ । गण्डकी प्रदेशसभाका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि बहुमत सङ्ख्या ३१ चाहिन्छ जुन नयाँ गठबन्धनसँग छ ।

प्रदेशसभाको दोस्रो ठूलो दल एमालेसँग २२, माओवादी केन्द्रसँग आठ र राप्रपासँग दुई सदस्य छन् । एक सदस्य रहेको एकीकृत समाजवादीको समेत समर्थन लिन सके गठबन्धन दलको सदस्य सङ्ख्या ३३ पुग्छ । जसबाट सजिलै सरकार बन्न सक्छ ।

गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएसँगै प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । नयाँ गठबन्धनका मुख्य दुई घटक एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । यद्यपि केन्द्रमा हुने सहमतिअनुसार नै प्रदेशको शक्ति बाँडफाँट हुने नेताहरूले बताएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले गण्डकी प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने बताउनुभयो । “एमालेको नेतृत्वमा सरकार बन्छ र खगराज अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो ।

आइतबारदेखि राजनीतिमा नयाँ परिस्थिति निर्माण भएकोले त्यसकै भावअनुसार प्रदेशको सत्ता अभ्यास अघि बढ्ने केन्द्रीय सदस्य नेपालीले बताउनुभयो । “केन्द्रमा पनि गठबन्धन दलहरूबीच सहमतिको खाका बन्ला, कुन–कुन प्रदेश कसले लिने भन्ने त होला तर गण्डकीमा एमालेको बलियो दाबी रहन्छ”, उहाँले भन्नुभयो ।

सरकारको नेतृत्व एमालेले लिए पनि गठबन्धनका अन्य दलहरूलाई पनि मन्त्रिमण्डल बनाउँदा सम्मानजनक भूमिका र स्थान दिइने उहाँले बताउनुभयो । बिहीबार प्रदेशसभा सदस्यको शपथ ग्रहणपछि सरकार निर्माणका लागि अग्रसरता बढाउने उहाँको भनाइ छ ।

नयाँ गठबन्धनमा दोस्रो तथा प्रदेशसभामा तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आफ्नो पार्टीको दाबी स्वाभाविक रहेको उल्लेख गर्नुभयो ।

“कांग्रेससँगको गठबन्धन हुँदा पनि अहिले गण्डकीको मुख्यमन्त्री हामीले पाउने भन्ने थियो, अहिले नयाँ समीकरण बनेको छ, मुख्यमन्त्री हामीले पाउनुपर्छ, माथि पनि त्यहीअनुसार कुरा राख्छौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीमा आलापालो हुने भन्दै प्रदेशसभा सदस्य चुमानले पहिला माओवादीलाई दिनुपर्ने बताउनुभयो ।

प्रदेश पार्टीले चाहेर मात्र नहुने भन्दै केन्द्रमा गठबन्धन दल र नेताहरूबीच हुने सहमतिले सबै कुराको छिनोफानो गर्ने उहाँको भनाइ छ । “केन्द्रमा जे सहमति हुन्छ, त्यसलाई मानेर जानैपर्छ, माथि कस्तो परिस्थिति बन्छ, हामी पनि त्यसकै पखाईमा छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रबाट आउने निर्णयपछि ससंदीय दलको नेता चयन गर्ने तयारीमा माओवादी केन्द्र छ । अहिले पनि चुमान नै दलको नेता बन्ने निश्चित जस्तै छ । एमालेले भने आइतबार सर्वसम्मतरूपमा खगराज अधिकारीलाई दलको नेता चुनेको छ । कास्की–१ ९१० बाट निर्वाचत उहाँ मुख्यमन्त्रीकै लागि सङ्घको राजनीतिबाट प्रदेशमा झर्नुभएको हो ।

तनहुँ–१ ९२० बाट निर्वाचित चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठनको दाबी गर्न आह्वान गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ । उक्त संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई प्रेदश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने छ ।