माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

  • १० पुष २०७९, आईतवार
  • 295 पटक पढिएको

काठमान्डौ १० पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

 

सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदले आज दिउँसो पौने पाँच बजे प्रचण्डलाई संविधानको धारा ६ को उपधारा २ अनुसारको प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्दै राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए।

प्रचण्डलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले समर्थन जनाएका छन्। यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन्।

प्रचण्डले २६५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति कार्यालयमा एउटा मात्रै प्रस्ताव पेस भएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसारको प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरेकी हुन्।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने व्यवस्था छ।

संसदमा कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा १ को सट्टा सीधै उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।