बास्कुनामा सुन्तला खेतीबाट स्थानीयबासीकाे जीवनस्तर फेरियो (तस्बिर /भिडियाे)

‘सुन्तला बगैचामा बोटबाटै विक्रि हुन्छन सुन्तला’

  • ७ पुष २०७९, बिहीबार
  • कमल खत्री
  • 623 पटक पढिएको

कमल खत्री

म्याग्दी ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दिर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागत रुपमा गर्दै आएको खाद्यखेतिबाली छाडेर नगदेबालीको रुपमा खेतवारीमा व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै विक्रि हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरि करिब ७ सय सुन्तलाका बोट रोप्नुभएका खत्रीको बगैचामा यतिबेला सुन्तला टिप्ने चटारो छ ।

 

दुई ठाउँमा सुन्तला खेती गर्नुभएका खत्रीको एउटा बगैँचामा मात्रै रु ७ लाख ९० हजारमा सुन्तला विक्रि भएको छ । ‘‘ गत बर्ष रु ७ लाखको सुन्तला विक्रि गरेको थिँए, यस बर्ष दुई वटा बगैँचामा गरेर १० लाख बढीको विक्रि भएको छ, ठेकेदारले बोटमै आएर सुन्तला किनेर लैजाने गरेका छन्’’–उहाँले भन्नुभयो । खाद्यबाली लगाउँदा नियमित सिँचाईको अभाबसंगै खेतीबाली लगाउँने र गोडमेलमा लाग्ने कामदारको लगानी अनुसारको प्रतिफल नआउने भएपनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताउनुभयो ।


बास्कुनाकै देवी हुमेन क्षेत्रीको फुलवारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उहाँको घरपरिवारमा करिब ८ सय सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायिले घरमै पुगेर सुन्तलाको पेश्की रकम दिएर बोटबाटै सुन्तला खरिद गर्ने टुंगो लगाएका थिए । क्षेत्रीको मात्रै होइन बास्कुना र सुर्केमेलाका करिब दुई दर्जन घरधुरीमा व्यवसायिहरुले फल नलाग्दै पेश्की दिएर सुन्तला बोटबाटै खरिद गर्ने गरेका छन् । ‘‘ यो बर्ष करिब ८ लाखको सुन्तला विक्रि हुने भएको छ, सबै सुन्तला ठेकेदारले नै लैजाने समझदारी भएको छ, बजार खोज्न भौतारिनुपर्ने झण्झट भएको छैन, सुन्तलाखेतीप्रति उत्साहित नै छौँ’’– क्षेत्रीले भन्नुभयो ।


उहाँको घरपरिवारले करिब २० रोपनी खेतवारी सबैमा सुन्तला खेती गर्नुभएको छ । बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाईने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिनुभयो । ‘‘यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारीहरु पेश्की लगाउन आइपुग्छन, अधिकाँश व्यवसायिले पोखरा, काठमाण्डौ र चितवन सम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजी अहिलेसम्म गर्नुपरेको छैन’’–गुरुङले भन्नुभयो ।


यो बर्ष बास्कुनामा सबैभन्दा थोरै विक्रि गर्नेले रु १ लाख र बढी विक्रि गर्नेले रु १० लाख सम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनासंगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला विक्रि गर्न भ्याईनभ्याई भएको छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । कोदो, मकै, गहुँ लगायत अन्नबालीको विकल्पमा सुन्तला खेती गरेका गरेका स्थानीयबासीले बजारको अभाब झेल्नुभएको छैन् । अघिल्लो बर्षको तुलनामा उत्पादन बढेको र खदिर गर्नका लागि काठमाण्डौ लगायतका ठाउँबाट व्यापारीहरु बगैचामै आइपुगेको स्थानीय कृषक रामबहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

अघिल्लो बर्ष रु ७० लाख बराबरको सुन्तला निकासी भएको राखुबाट यस बर्ष उत्पादन बढेकाले रु १ करोड बराबरको सुन्तला विक्रि हुने स्थानीयको अपेक्षा छ । यस गाउँमा न्यूनतम ५० हजारदेखि ७ लाखसम्म बार्षिक रुपमा हरेक घरले सुन्तला विक्रिबाट आम्दानी गर्छन । म्याग्दीमा पछिल्लो समय सुन्तला खेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ । नगदे बाली भएकाले आम्दानी हुने र खेती गर्न अन्य बालीको तुलनामा झण्झट र लगानी धेरै नहुने भएकाले जिल्लामा सुन्तला खेतीको लहर चलेको हो ।

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लका स्थानीयबासीले समेत गाउँलाई सुन्तला गाउँको रुपमा विकास गरेका छन् । करिब ५० घरधुरीको बसोबास रहेको यहाँका सबै घरधुरीमा व्यावसायिक सुन्तला खेति गरिएको छ । परम्परागत मकै, गहुँ, कोदो खेती छाडेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका हुन् । एक दशक यता यहाँका खेतियोग्य जमिन र खेती गर्न छाडेर बाँझो रहेको जमिनमा समेत सुन्तला रोप्न थालिएको र सुन्तलाको उत्पादन भएमा बजारीकरणको समस्या नभएको स्थानीय कृष्ण पुनले जानकारी दिनुभयो ।


म्याग्दीमा बेनी नगरपालिका सहित बरंजा, अर्मन, ओखरबोट, देविस्थान, बिम, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङ लगायतका क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र मान्छिन् । गाउँमा अन्नबालीको लागि काम गर्ने मानिसको अभाबमा बाँझीने समस्या बढीरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सहि उपयोग संगै स्थानीयलाई आयआर्जनमा समेत सघाउ पु¥याएको छ ।
जिल्लाको ग्रामिण भेग सम्म सडक सञ्जालको पहुँच विस्तार भएसंगै उत्पादन भएका सुन्तलाको बजारीकरणमा सहज भएपछि किसानहरु सुन्तलाको व्यावसायिकतर्फ उत्साहित भएर लागेका हुन् । पछिल्लो समय सुन्तला खेती गर्ने किसानहरुलाई स्थानीय तह र कृषि ज्ञान केन्द्र लगायतका निकायहरुबाट समेत विरुवा खरिदमा अनुदानसंगै रोगकीरा व्यवस्थापनमा औषधी संगै तालिम समेत उपलब्ध भएपछि सुन्तलाको व्यावसायिकताले स्थानीयबासीको जिवनस्तरमा सुधार ल्याउन थालेको छ ।          

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l